भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय आयोग बन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा भएका भ्रष्टाचारका घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सरकारको तयारी रहेको बताउनुभएको छ। सोमबार दिउँसो काठमाडौंको कमलादीमा अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारको छानविनका लागि छिट्टै आयोग गठन गरिने बताउनुभएको हो।
जलवायु परिवर्तन र प्राकृतिक बिपत्तिको मुल कारण पुँजीवादी मुनाफा र अव्यवस्थित विकास भएकोमा प्रधानमन्त्रीले जोड दिनुभयो। आजको विश्व भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादमा छ। मुनाफाको होड र अव्यवस्थित विकासका कारण विश्वले निकै ठूला चुनौतीको सामना गरिरहेको छ। जलवायु परिवर्तन समुन्द्रको सतह बढ्ने विश्व तापमान वृद्धि जस्ता कुराहरू विश्वकै लागि चुनौती हुन्।
प्रधानमन्त्रीले भन्नुभयो हामीले पार्टीको घोषणापत्रमा नै प्रतिवद्धता व्यक्त गरेका छौँ कि २०४६ सालपछि भएका सबै भ्रष्टाचारको छानबिन गरिनेछ। हामी आयोग बनाउने तयारीमै छौँ। मैले वर्तमान सरकारका ३ प्राथमिकता भनेको छु सामाजिक न्याय सुशासन र समृद्धि। सुशासनको लक्ष्य हासिल गर्न आयोग बनाएर काम गर्छौं।
सबैभन्दा ठूला भ्रष्टाचारीहरू नै भ्रष्टाचारको छानबिन हुनुपर्यो भन्दै तमासा गरेको देख्दा अनौठो लाग्ने उहाँले बताउनुभयो । उहाँले तिनीले जनतालाई भ्रम पार्न यसरी प्रस्तुत भइरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो हामी तिनीहरूको भ्रममा पर्न जरूरी छैन। भ्रष्टाचारको छानबिन गरिन्छ र मुलुकमा सुशासनको नयाँ वातावरण बनाइन्छ।