म्यानपावर व्यवसायीलाई फेरि सिण्डिकेटको डर !
काठमाडौं । एक समय थियो, वैदेशिक रोजगारीमा सीमित व्यवसायीको पहुँच थियो । राजनीतिक पहुँच र आर्थिक चलखेल गर्न सक्ने म्यानपावर व्यवसायीको हालीमुहाली थियो ।
विस्तारै त्यो सिण्डिकेट तोडियो । अन्य म्यानपावर व्यवसायीहरूले समेत सहजता पाउन थाले । सरकारले समेत सहज बनाइदिएपछि अन्य व्यवसायीहरूले समेत काम गर्ने वातावरण बन्न थाल्यो । एकाधिकार कम हुँदै गएपछि ती व्यवसायी विरक्तिन थाले ।
तर, अहिले फेरि केही व्यवसायीहरू त्यस्तै खालको सिण्डिकेटतर्फ लाग्न थालेका छन् । सो कार्यप्रति म्यानपावर व्यवसायीहरू नै चिन्तित बनेका छन् । केही म्यानपावर व्यवसायीहरूले सम्बन्धित देशले गर्दै आएको काम आफैं गर्ने कोसिसमा लागेका छन् । युएईको भिसा सेन्टर नेपालमा स्थापना गर्न केही व्यवसायीहरू सक्रिय देखिएका छन् ।
त्यस्तै युएईकै द सेक्युरिटी इन्ड्रस्टी रेगुलरटी एजेन्सी (सिरा) लाई समेत नेपालमा ल्याउन खोजिरहेका छन् । उनीहरू नेपालमा आउनु त राम्रो हो । तर, त्यसका लागि सीमित म्यानपावर व्यवसायी लाग्नुले सिण्डिकेट भित्र्याउने खेल भएको व्यवसायीहरूको बुझाई छ ।
वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान महासचिव सुजित कुमार श्रेष्ठले सम्बन्धित देशले गर्दै आएको काम नेपालमा ल्याउन खोजिएको बताए । डिपिएस ट्रेनिङ (डिपार्टम्यानट प्रोटेक्टिभ सिस्टम) दिने कम्पनीले गर्दै आएको काम नेपालमा ल्याउन खोजिरहेको र त्यस्तो गरेपछि उनीहरूले नेपालमा आफ्नो एकाधिकार लाद्ने र श्रमिकहरूलाई लाखौं रूपैयाँ असुल्ने योजना बनाइरहेको उनको भनाई छ ।
सेरा कम्पनीले नेपालबाट गएका श्रमिकहरूलाई दुबईमा पुगेर तालिम दिने र त्यही प्रमाणपत्र दिने गर्दै आएको छ । हिजोका दिनमा हामीले कामदारहरू पठाउँथ्यो । त्यहाँ गएपछि कम्पनी आफैंले लाइसेन्स दिन्थ्यो । तर, व्यवसाय तथा बाहिरको चलखेलले सरकारी निकायमै चलखेल गरेर त्यो सर्टिफिकेशन नेपालबाटै दिलाउने र ट्रेनिङ दिलाउने भन्ने कुरा भइरहेको छ । त्यसको लागि २ हजार दिराम चार्ज लिने भन्ने कुरा छ ।’