पुल नहुँँदा विजयनगरका बालबालिका जोखिमपुर्ण यात्रा गर्न बध्य
कृष्ण पौडेल-
कपिलवस्तु- चिरई नदीमा पुल नभएकै कारण कपिलवस्तुको विजयनगरका बालबालिका विद्यालय जाँदा बर्खाको उर्लदो भेल होस् वा हिउँदको चिसो, विद्यार्थीहरु जोखिम मोलेर नदी तर्छन् । विजयनगर गाउँपालिका– वडा नं ५, ६ दालपुर ,नौरंगया,छुट्पाटि,खजानिया , उज्ज्वलपुरका बालबालिका छुट्पाटि–थरौलिघाट जोड्ने पुल नहुँदा जोखिम मोलेर नदी वारपार गरिरहेका छन । चिरई खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ। अधिकांश विद्यार्थी यही खोला तरेर विद्यालय आउने जाने गर्छन्। वर्षौदेखि पुल नहुँदा स्थानीयले ज्यानकै बाजी लगाएर खोला तर्नुपर्ने बाध्यता छ।
हिँउदको समयमा जोखिम कम हुने भए पनि वर्षातको भेलमा यो खोला तर्न निकै सकस हुने गरेको छ। पुलका लागि स्थानीयले बारम्बार माग गर्दै आएका छन्। तर हालसम्म पनि कसैले यसतर्फ ध्यान दिएको छैन। जसकाकारण स्थानीयले वर्षातको समयमा खोला तर्न जोखिम मोल्नु परेको हो।
बिद्यालयकि शिक्षिका जसमति यादवले चिरईमा पुल नहुदाँ बिद्यार्थीहरूको पठनपाठन नै प्रभावित भएको बताउनुभएको छ । ‘पुल नहुदाँ बिद्यार्थीहरुले जोखिम मोलेर नदि पार गर्छन, कहिलेकाही पढाइ शुरुभैसकेपछि मात्रै बिद्यालयमा उपस्थित हुन्छन्, यसले गर्दा उनीहरुलाई पढाइमा घाटा लाग्नेगर्दछ’ उहाँले भन्नुभयो । बर्खाको समयमा पारीका आधा बढी बिद्यार्थी बिद्यालयमा अनुपस्थित हुने गरेको उहाँले बताउनुभयो ।
चिरई नदिकै कारण बालबालिकालाई बिद्यालय पठाउन पनि समस्या हुने गरेको एक अभिभावक घनश्याम भरले बताउनुभयो । ‘बिद्यार्थीहरु मात्रै होइन्, यहाँका स्थानियहरुले पनि घास दाउरा, मेलापात चिरई नदि तरेर गर्नुपर्ने बाध्यता छ’ उहाँले भन्नुभयो ।
‘कक्षा ८ मा अध्ययनरत बलाराम कुमालले बर्खामा चिरई उर्लेर आउँछ । सक्नेजतिले चिरई तरेर पढ्न जान्छौं, नसक्ने बीच बाटोबाटै घर फर्किनुपर्छ ।’ नदी तर्दा कहिलेकाहीं किताब कापी भिज्ने गरेको उहाँले बताउनुभयो । कक्षा छ मा अध्ययनरत अर्का विद्यार्थी बन्दना पालले चिरई नदीकै कारण कैयौं पटक कक्षामा उपस्थित हुन नसकेको बताउनुभयो । ‘हिउँदको चिसोमा होस् या बर्खामा, बाह्र्रै महिना चिरई नदी तरेर विद्यालय जानुपर्छ, उहाँले भन्नुभयो– ‘चप्पल बग्छन्, कपडा भिजेका हुन्छन् ।’ उहाँले भन्नु भयो।
थरौलिमा रहेको आधारभुत विद्यालय थरौलिमा चारसय पाँचस बढी बिद्यार्थीले पढ्छन् । जसमध्ये चिरई नदीपारिका करिब दुई सय विद्यार्थी छन् । उनीहरूलाई दैनिक विद्यालय जान र फर्किने क्रममा नदी तर्न समस्या हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक तुलबहादुर सारुले चिरईमा पुल नहुँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको बताउनुभयो । ‘पुल नहुँदा विद्यार्थीहरुले जोखिम मोलेर नदी पार गर्छन्, कहिलेकाहीं पढाइ शुरु भइसकेपछि मात्रै विद्यालयमा पुग्छन्’– उहाँले भन्नुभयो । बर्खाको समयमा चिरईपारिका आधाबढी विद्यार्थी विद्यालयमा अनुपस्थित हुने गरेको उहाँले बताउनुभयो ।