विद्यालय बन्दगर्न अभिभावक महासंघ लुम्बिनीको आग्रह
प्रहलाद यादव, लुम्बिनी-
नेपाल अभिभावक महासंघ, लुम्बिनी प्रदेश समितिले तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको अवस्थामा विद्यालयको पठनपाठनमा प्रत्यक्ष असर गरेको र विद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न तथा कक्षा कोठामा बसेर अध्ययनगर्न कठिनाई भएको हुदा केहि समय विद्यालय बन्दगर्न आग्रह गरेको छ ।
महासंघका अध्यक्ष हेम थापाले शनिवार एक विज्ञप्ति जारी गर्दै केहि दिनयता तराईका जिल्लाहरुमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र बढ्ने क्रम रहेको हुदा उच्च तापक्रममा स–साना बालबालिकाहरुलाई घरबाट विद्यालयजान र विद्यालयबाट घर फर्कन समस्या भैरहेको, विद्यालय गएपनि नियमित शिक्षण सिकाई क्रियाकलापमा सामेल हुन असहज भैरहेको भन्ने अभिभावकहरुको गुनासो आएको हुँदा विद्यार्थीहरुको जिवन रक्षाकालागि विद्यालय बन्दगर्नु उपयुक्त देखिएकाले स्थानिय निकाय शिक्षा विकास तथा समन्वय इकाइ, विद्यालय सञ्चालक तथा सरोकारवाला संस्थाहरुको ध्यानाकर्षण गराएका छन् ।
विज्ञप्तिमा तराई क्षेत्रमा केही दिनदेखि बढ्दै गएको अत्यधिक गर्मीका कारण विद्यालयहरूमा पठन–पाठनका क्रियाकलाप सञ्चालनगर्न कठिनाइ उत्पन्न भएको र अत्याधिक गर्मीका कारण घाउखटिरा, झाडापाखाला जस्ता मौषमजन्य रोगहरु पनि देखिने जोखिम धेरै रहेकोतर्फ महासंघले सचेत गराएको छ ।
बढ्दो गर्मीका कारण जिल्लाका केहि विद्यालयहरु बन्दगरिएको भएपनि धेरै विद्यालयहरुका सञ्चालन गरेको तर्फ महासंघको गम्भीर ध्यानाकर्षण गराउदै तत्काल केहि दिन पठनपाठन बन्दगर्न अनुरोध गरेको छ ।
रुपन्देही लगायतका लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा उच्चगर्मीका कारण झाडा पखला, उच्च ज्वरोका बिरामीहरूको संख्या बढेको अस्पतालहरुले जनाएका छन् । गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । तराईमा लू चल्न थालेको भन्दै स्वाश्थ्य मन्त्रालयले सचेत रहन पनि आग्रह गरेको छ ।