काठमाडौं गोलीकाण्ड : थप एक जना धरानबाट पक्राउ
काठमाडौं -लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंसँग भएको मुठभेडमा गोली लागेर घाइते भएका भारतीय नागरिक विकास भगतसँग सम्बन्ध देखिएका एक जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।
ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार धरानको भानु चोकस्थित सब्जीमण्डीबाट प्रहरीले राम भजनलाई पक्राउ गरेको हो । उनका अनुसार भारतीय नागरिक भगत जोगवनी नाकाबाट नेपालमा लागूऔषध ब्राउन सुगर भित्र्याउने नाइके हुन् ।
‘लामो समयदेखि सर्भिलेन्स गरिरहेका थियौं, २९ जेठमा उनी काठमाडौं आएका बेला पछ्याउँदै जाँदा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको थियो’, जोशीले भने, ‘हाल उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् ।’
उपचारमा भएकाले प्रहरीले अदालतबाट म्याद लिन पाएको छैन । औपचारिक बयान पनि भएको छैन । तर, अनौपचारिक सोधपुछका आधारमा प्रहरीले छानबिन जारी राखेको छ ।