देशभर धान रोपाइ कम ,लुम्बिनी प्रदेशमा पनि २५ प्रतिशत रोपाई
काठमाडौं । असार अन्तिम सातसम्म देशभर २७ प्रतिशत मात्रै धान रोपाइ भएको छ ।
कृषि तथा पुशपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार असार २१ गतेसम्ममा २६ दशमलव ७१ प्रतिशत मात्रै धान रोपाइ भएको पाएको हो।
कृषि विभागले प्रदेशसँगको समन्वयमा तयार गरेको धान रोपाइमा गत वर्षको तुलनामा कम रोपाइ भएको हो । गत वर्षको असार २१ गतेसम्ममा देशभर ४० प्रतिशत रोपाइ भएको थियो । तर, यो वर्षको सोही अवधिमा मुलुकभर करिब २७ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ ।
गत वर्षको यसै अवधिको तुलनामा करिब १३ प्रतिशतको हाराहारीमा कम रोपाइ भएको मन्त्रालयले जनाएको छ । मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा मनसुन शुरु हुन ढिलो रोपाइ भएको छ ।
देशभर १३ लाख ५७ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइ हुँदै आएको छ । हालसम्ममा ३ लाख ६२ हजार ६२५ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइ भएको छ ।मन्त्रालयअनुसार कोशी प्रदेशमा असार २१ गतेसम्ममा १ लाख ८९१ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ । जुन ३६.६७ प्रतिशत मात्रै धान रोपाइ हो ।
त्यसैगरी, मधेस प्रदेशमा ३३ हजार ७७३ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ । जुन ९.५३ प्रतिशत हो ।बागमतीमा ३४ हजार हेक्टर क्षेत्रफलमा मात्रै रोपाइ भएको छ । जुन ३०.७८ प्रतिशत रोपाइ हो ।
त्यस्तै, गण्डकी प्रदेशमा १७.५५ प्रतिशत, लुम्बिनी प्रदेशमा २४.४३ प्रतिशत, कर्णाली प्रदेशमा ४५.०२ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ४८.९७ प्रतिशत रोपाइ भएको छ ।
गत वर्षको सोही अवधिमा कोशी प्रदेशमा ३१.९६ प्रतिशत, मधेस प्रदेशमा ३० प्रतिशत, बागमती प्रदेशमा ४३ प्रतिशत, गण्डकी प्रदेशमा ६२.३२ प्रतिशत, लुम्बिनी प्रदेशमा ५३ प्रतिशत, कर्णाली प्रदेशमा ५६.३१ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ७२.७० प्रतिशत रोपाइ भएको थियो ।