गुल्मीमा ७ पटक म्याद थप्दा पनि ३ किलोमिटर सडक कालोपत्रे भएन
गुल्मी सदरमुकाम तम्घास खाम्सेपानी नयाँगाउ नादी सूर्यटारी सडकखण्डमा ७ पटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थप्दासमेत कालोपत्रे हुन सकेको छैन। निर्माण व्यवसायीले पटक-पटक ठेक्का सम्झौता गर्ने तर काम नगर्ने हुँदा यहाँको सडक झण्डै ३ किलो मिटर सडक कालोपत्रे हुनबाट बञ्चित भएको हो ।
यो सडकमा निर्माण कार्य खण्ड-खण्ड रुपमा भइरँदा जनता आक्रोसित हुनु परेको स्थानीय रोमबहादुर गुरुङले बताए । उनले भने, ‘ एउटा सडकको ७ पटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थप्दा समेत काम हुन सकेको छैन । जसले गर्दाहामी स्थानीयहरूलाई रिस उठ्न थालेको छ। कति पटक सडक बनाउँछौं भनेर ढाट्ने ? यो त अति भयो । ‘
सडकको सुरुको खण्ड तम्घास खाम्सेपानी अन्तर्गत सुपा खोलासम्म साढे दुई किलोमिटर कालोपत्रे हुन नसकेको हो । अर्को खण्डको तीन किलोमिटर ३ वर्ष अघि नै कालोपत्रे भएको थियो ।
निर्मार्ण व्यवसायीले पटकपटक ठेक्का सम्पन्न गर्ने म्याद थप्ने तर काम पुरा नगर्दा सडक समयमै निर्माण हुन सकेको छैन्। व्यवसायीले अन्तिम पटक भन्दै २०८० साल असारसम्मको म्याद थप गरेको थियो । यो समयमा पनि कालोपत्रे गर्ने काम कुनै पनि भएको छैन।
सडकको २०७१ साल असार ३१ गते साम्झौता भई २०७२ साल चैत्र ३० गते सम्पन्न गर्ने गरी लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले सम्झौता गरेको थियो । तर, निर्माण व्यवसायिले समयमै काम गर्न नसक्दा त्यसक्षेत्रका नागरीकले सास्ती खेप्नु परेको हो ।
सडकको तम्घासदेखि खाम्सेपानी अन्तरगत सुपाखोलासम्म साढे दुई किलोमिटर सडक कालोपत्रे गर्ने गरि ७ करोड १९ लाख ८७ हजार ७० रुपैया लागतमा निर्माणको जिम्मा दिइएको थियो ।