बंगलादेशी नागरिकलाई बन्धक बनाइ फिरौती असुल्ने सातजना पक्राउ
बङ्गलादेशी नागरिकहरूलाई वैदेशिक रोजगारका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौँमा बन्धक बनाउने गिरोहका सात जना पक्राउ परेका छन् ।
बङ्गलादेशी नागरिकलाई बन्धक बनाई उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बङ्गलादेशी र नेपाली नागरिकहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
कार्यालयले आरोपितहरूलाई पक्राउ गर्नुका साथै बन्धक बनाइएका छ जना बङ्गलादेशी नागरिकलाई उद्धार समेत गरेको छ । गिरोहले वैदेशिक रोजगारीमा लाने भन्दै बङ्गलादेशबाट नेपाल ल्याई काठमाडौँका विभिन्न स्थानहरूमा रहेका होटल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो ।
पक्राउ पर्नेहरूमा बङ्गलादेश गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बङ्गलादेश बरिसालका ३७ वर्षीय एमडि मोसिउर, हरिसिद्धि ललितपुर बस्ने बङ्गलादेशी नागरिक ३८ वर्षीय सलिम मियाँ, सिन्धुपाल्चोक बलेफी–६ कि २७ वर्षीया तारा नेपाली, बङ्गलादेशी नागरिक २१ वर्षीय जहाङ्गीर आलम, काठमाडौँ हाडिगाउँ बस्ने बङ्गलादेशी नागरिक २१ वर्षीय तहमिना बेगम र इलाम चुलाचुली–४ कि ३३ वर्षीया रोशनी राई रहेका छन् ।