लोक सेवा आयोगको विश्वसनीयता अभिवृद्धिमा मेहनत गर्न राष्ट्रपतिको सुझाव
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक प्रशासनलाई स्वच्छ, मर्यादित, पारदर्शी, समावेशी र जनउत्तरदायी बनाउन लोक सेवा आयोग सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन बुझ्दै उहाँले योग्यता प्रणालीको संरक्षकका रूपमा रहेको आयोगको विश्वसनीयतामा अभिवृद्धिका लागि मेहनत गर्न सुझाव दिनुभयो ।
नेपालको संविधानले निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने गहन जिम्मेवारी आयोगलाई दिएको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवम् सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमा समेत पदपूर्तिका लागि लिखित परीक्षा स्वयं आयोगले नै गर्नेगरी कार्य क्षेत्रमा व्यापक विस्तार भएको बताउनुभयो ।