घाइतेको उद्धार र उपचारमा कमी हुन दिँदैनौं : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमनपश्चात अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै उद्धार र उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ ।
शनिबार बिहान जाजरकोटको सदरमुकाम खलङगामा पुगेर रुकुमपश्चिम आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले घाइतेहरुको उद्धार र उपचारमा कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएको हो । चौरजहारी अस्पताल, सानीभेरी गाउँपालिका अस्पताल, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा पुगेर उहाँले घाइतेको अवस्थाबारे जानकारी लिनुभएको हो ।
घाइतेहरुसँगको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले केही गुनासा र मागहरु भएमा आफू समक्ष राख्न अनुरोध गर्नुभयो । त्यसक्रममा उहाँले मनोवल उच्च बनाउन आग्रह गनुृहुँदै सरकारले उपचारमा कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
प्रधानमन्त्रीले घाइतेको उद्धार तथा राहतको व्यवस्थाबारेमा जिल्लास्थित सुरक्षा निकाय, स्थानीय सरकारसँग जानकारी लिनुभएको छ । प्रधानमन्त्री प्रचण्डसमक्ष रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तत्काल उद्धार र राहतका काममा सहयोग जुटाउन अनुरोध गर्नुभयो ।