भूकम्प पीडितको उद्धार र राहतमा परिचालित हुन दलहरुको अपिल
जाजरकोटको रामीडाडाँ केन्द्र भएर गएराति गएको भूकम्प पीडितहरुको उद्धार र राहतमा परिचालित हुन राजनीतिक दलहरुले पार्टी पंक्तिलाई आहृवान गरेका छन् । दलहरुले अलग-अलग बक्तव्य जारी गरी तत्काल खोज, उद्धार र आपतकालीन राहतका लागि पार्टी पंक्तिलाई आहृवान गरेका हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी स्वदेश तथा विदेशमा रहेका सबैलाई खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न आहृवान गरेका छन् ।
‘स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपिल गर्दछ’, वक्तव्यमा उल्लेख छ । कांग्रेसले पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि पचास लाख नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ । ‘…यसैक्रममा भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले रु.पचास लाख नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ ‘, विज्ञप्तिमा उल्लेख छ ।
नेकपा एमालेले घाइतेहरुको उद्धार र उपचारमा परिचालित हुन पार्टी पंक्तिलाई अपिल गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले गरेको अपिलमा देशभरका नेता-कार्यकर्तालाई उपचारमा जुट्न आग्रह गरिएको छ । ‘देशभरिका साथीहरुले राहत र घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला ‘, ओलीको आग्रह छ ।