Connect with us
Kapilvast Forest

आएन हिउँदे वर्षा भित्र्याउने प्रणाली

२०८०, १६ पुष सोमबारमा प्रकाशित

chiso.jpg

हिउँद यामको एक महिना बित्यो तर वर्षा फाटफुटबाहेक अहिलेसम्म हुन सकेको छैन । यो वर्ष हिउँदमा बागमतीदेखि पश्चिमसम्मको भूभागमा औसतभन्दा बढी वर्षा हुने आँकलन गरिएको थियो । एक महिनाको अवधिमा भुइँ भिज्ने गरी वर्षा नहुँदा हिउँदे बाली लगाएका किसान समुदायमा पनि चिन्ता थपिएको छ ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनील पोखरेलका अनुसार वर्षाका लागि सक्रिय प्रणाली भित्रिन नसक्दा नेपालमा हिउँदे वर्षामा ढिलाइ भएको हो । एक महिनामा जति पनि पश्चिमी वायु नेपाल नभित्रिएर मौसम राम्रो नभएको उहाँ औँल्याउनुहुन्छ । उहाँले भन्नुभयो, “राम्रो प्रणाली आइदिएको भए आकाशमा जमेका प्रदूषित वायु तथा तुवाँलो हटेर वर्षाका लागि वातावरण बन्थ्यो ।”

एक महिनासम्म वर्षा नहुँदा पनि हिउँदमा औसतभन्दा बढी वर्षाको सम्भावनामा कुनै असर नपर्ने मौसमविद् प्रतिभा मानन्धर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पश्चिमी वायु नै कमजोर आइरहेकाले ढिलाइ भएको हो, यसले वर्षाको औसतमा कुनै असर गर्दैन ।” उहाँका अनुसार हिउँद महिनामा साढे दुई महिना नै वर्षा नभएर एक दुई दिन मजाले वर्षा भएमा त्यसले औसत वर्षाको आँकडा मजाले भेट्न सक्छ ।

एक महिनाअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मौसम सङ्गठनको विश्लेषण अनुसार यो हिउँदमा नेपालका अधिकांश भूभागमा औसतभन्दा बढी वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो ।

वर्षा नहुँदा नेपालमा सुक्खा चिसो बढ्न थालेको छ । आद्र्रताबाहेकको चिसोले मानव स्वास्थ्यमा असर पार्न थालेको छ । वर्षा नहुँदा आकाशमा धुलो, धुवाँ र प्रदूषणका कण बढ्दै गएको छ । चिसो हावामा मिसिएर ती कण मानव शरीरमा प्रवेश गर्दा सुक्खा खोकी लाग्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिन थालेको छ ।

काठमाडौँमा तापक्रम घटीमा ४ देखि ७ डिग्री सेल्सियस आसपासको घटबढ देखिएको छ । त्यस्तै जुम्लामा माइनस २ देखि ५ डिग्री सेल्सियस हाराहारीमा दैनिक उतारचढाव हुने गरेको छ । यी दुई क्षेत्र जस्तै अन्य पहाडी तथा हिमाली भेगमा ३ डिग्री सेल्सियस आसपासको तापक्रम उतारचढाव हुने गरेको महाशाखाले जनाएको छ ।

वर्षा हुने छनक अझै नदेखिएको विभाग अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तथापि आगामी दुई दिन हिमपातको सम्भावना भने देखिएको मौसमविद् मानन्धरले जानकारी दिनुभयो । महाशाखाका अनुसार गण्डकी र कोशी क्षेत्रमा सामान्य हिमपात हुने देखिएको हो ।

हिउँदको पहिलो एक महिनामा वर्षा नभए पनि हिमपातको स्तर भने थोरै सन्तोषजनक रहेको छ । तथापि वर्षा नहुँदाको अवस्थामा हिमपातका कारण मात्र सबैतिर एकनासको जाडोको तापमानमा पनि उतारचढाव देखिएको छ । चिसो मजाले बढ्न सकेको छैन । मानन्धरले भन्नुभयो, “तराईमा भने दुई दिनयता हुस्सु र कुहिरोसँगै शीतलहर बढ्न थालेको छ । महाशाखाले दिएको जानकारी अनुसार शनिबार दिनभरजसो नै तराईमा हुस्सु र कुहिरो हटेन ।” आइतबार पनि साँझ मात्र हट्ने र राति फेरि बढ्ने देखिएको छ ।चिसोको घटबढले हुने स्वास्थ्य समस्याबाट जोगिन न्यानो रहने उपायको अवलम्बन गर्न महाशाखाले सुझाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu