Connect with us
Kapilvast Forest

कपिलवस्तुमा सोलार फार्ममार्फत १५ मेगावाट बिजुली उत्पादन गरिँदै

२०८०, २६ पुष बिहीबारमा प्रकाशित

file photo

कपिलवस्तुको शिवराज नगरपालिकामा निजी जमिनमा सोलार फार्म जडान गरी १५ मेगावाट बिजुली निकाल्ने तयारी गरिएको छ । जमिनमा कृषिबाली लगाउने र त्यसमाथि सोलार राखी बिजुली निकाल्ने तयारी गरिएको छ ।
पशुपति रिन्यूएबल्स प्रालिले अगाडि बढाएको धरमनगर सोलार फार्मको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश भएको छ । प्रतिवेदन अनुसार यो आयोजना निजी जमिनमा अगाडि बढाइएको छ । जसको लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रस्तावित आयोजनामा सोलार प्यानल मुनिको जमिनमा भुँइकटहर, पालक, खुर्सानी, बेसार, अदुवा, घाँस, जडीबुटीजस्ता बहुबाली रोप्ने उद्देश्य छ ।

यो आयोजना कुल १७ हेक्टर निजी जमिनमा बनाउने योजना बनाइएको छ । प्रस्तावित सोलार प्लान्टको सञ्चालनबाट उत्पादन भएको बिजुली राष्ट्रिय ग्रिड (शिवपुर सबस्टेशन)मा जोड्ने तयारी छ । यसबाट राष्ट्रिय स्तरमा विद्युतको आपूर्ति बढ्ने प्रतिवेदनमा उल्लेख छ ।

कृषि पूरक आयोजना

शिवराज नगरपालिका वडा नं ६ स्थित धरमनगर तथा मजगवाँ गाउँ नजिक रहेको निजी जमिन भाडामा लिएर यो आयोजना अगाडि बढाइएको प्रतिवेदनमा उल्लेख छ । यो आयोजनालाई ‘कृषि पूरक आयोजना’ नाम दिइएको छ ।

सोलार आयोजनाबाट कृषि जमिनमा असर नपरोस भन्ने उद्देश्यले यहाँ ‘एग्रो फोटो भोल्टायिक (एपीभी)’ प्रणाली अपनाइने भएको छ । यस्तो प्रणालीमा प्यानल मुनिको भूमि कृषि प्रयोजनमा प्रयोग गर्न सकिन्छ ।

फोटो भोल्टायिक प्रविधिबाट ऊर्जा उत्पादन र बोट विरुवाको उत्पादन एकसाथ गर्दा ऊर्जा र खाद्यान्न दुवै एकै स्थानबाट उत्पादन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । उपयुक्त बालीको छनोट गरी छायाँको प्रभावबाट आउने ह्रास कम गराउँदै एपीभी प्रविधि प्रयोग गर्दा कृषि आय ३० प्रतिशतसम्म बढ्न सक्ने समेत आयोजनाले जनाएको छ । यो प्रविधि विश्वका अन्य मुलुकमा धेरै प्रयोगमा आए पनि नेपालमा भने धेरै प्रयोगमा थिएन ।

वर्षभर औसत २२ डिग्री सेल्सियस तापक्रम

प्रस्तावित आयोजना स्थलमा वर्षभर औसत २२ डिग्री सेल्सियस तापक्रम रहने देखिएको छ । सोलार प्यानलमा दैनिक ८.७ घण्टा सौर्यकिरण पर्ने समेत देखिएको छ । जसबाट १५ मेगावाट र वार्षिक ३०.२ गिगावाट घण्टा बिजुली उत्पादन हुने अध्ययनमा देखिएको छ । यहाँ क्रिस्टलाइन मोनो सिलिकन (प्यानल) प्रयोग हुने भएको छ । प्रतिप्यानल उत्पादन क्षमता ६७० डब्लूपी देखिएको छ । प्यानलले कुल ७८ हजार ६२ वर्गमिटर क्षेत्रफल ओगट्ने छ । कुल २५ हजार १ सय प्यानल जडान गरी सो मात्रामा बिजुली उत्पादनको लक्ष्य राखिएको छ । यस विन्दुबाट शिवपुर सवस्टेशनसम्म प्रसारणलाइन बनाएर बिजुली जडान गरिने भएको छ । २.९ किलोमिटर लामो प्रसारण लाइन हुने भएको छ ।

आयोजनाको आयु २५ वर्ष, एक वर्षमा निर्माण सकिने

प्रतिवेदन अनुसार प्रस्तावित आयोजनाको आयु २५ वर्ष (विद्युत् खरिद बिक्री सम्झौता) तोकिएको छ । आयोजनाको लागत १२० करोड अनुमान गरिएको छ । निर्माण एक वर्षमा सक्ने लक्ष्य छ । १७ हेक्टर निजी जमिनमा आयोजनाको काम हुने भएको छ । यहाँ पछिल्लो ७ वर्षदेखि जमिन बाँझो अवस्थामा रहेका कारण तत्काल कृषि बालीमा असर नपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

सभारः अनलाइनखबर

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu