Connect with us
Kapilvast Forest

‘माघी’ देशविदेशमा फैलँदै, माघी महोत्सव आयोजना

२०८०, १ माघ सोमबारमा प्रकाशित

थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यस वर्ष पनि काठमाडौंमा विशेष रूपमा मनाइने भएको छ । तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौं उपत्यकावासीलाई पनि तान्दैछ । विगतमा जस्तै यस वर्ष पनि थारू अगुवाले टुँडिखेलमा थारू राष्ट्रिय माघ (माघी) महोत्सव–२०८० आयोजना गरेका छन् ।

विशेष गरी थारू समुदायले मनाउने यो पर्वमा पछिल्लो समय जातजाति पनि आकर्षित भएको पाइन्छ । माघी पर्वमा पाक्ने परिकार र थारू पहिरनप्रति संस्कृतिप्रेमी पनि आकर्षित भएका छन् । माघीमा विशेषतः ढिक्री, घोंगी, माछा र गँगटा जस्ता परिकार खाने चलन छ ।

यस वर्ष माघी पर्व यही पुस २९ र आगामी माघ १ गते मनाउन लागिएको थारू कल्याणकारीसभाका महामन्त्री प्रेमीलाल चौधरीले बताए । सो कार्यक्रमको उदघाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरेको जानकारी दिए ।

टुँडिखेलमा माघीका अवसरमा खानाको स्टल करिब ११५ कक्ष रहेको महामन्त्री चौधरीले बताए । ‘सोमबार बिहान वसन्तपुरबाट झाँकी ¥याली सुरु भइ टुँडिखेल आउनेछ । महोत्सवमा मेची–महाकालीको थारूको नाचगान प्रस्तुति रहने छ,’ उनले भने ।

सरकारले २०६३ सालदेखि माघीलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिने निर्णय सकारात्मक भएको महामन्त्री चौधरीले बताए । उनले भने, ‘विसं २०५९ देखि २०६२ सालसम्म थारूलाई मात्र बिदा दिने गरिएकोमा २०६३ सालबाट राष्ट्रिय पर्वका रुपमै मनाउने गरिएको हो ।’

लेखक तथा पत्रकार कृष्ण सर्वाहारी माघीका अवसरमा बरघर (गाउँको मुखिया) छान्ने प्रचलनलाई काठमाडौंमा पनि लागू गर्नुपर्ने धारणा राख्छन् । उनले भने, ‘माघी पर्वका अवसरमा बरघर छान्ने प्रचलनलाई काठमाडौंमा पनि आफ्नो गाउँघरका लागि के योगदान गर्न सकिन्छ भन्नेमा छलफल हुन जरुरी छ ।’ उनले थारूका मुख्य परिकारहरु ढिक्री, घोँघी, महुवाको जाँडजस्ता परिकारलाई प्रवर्द्धन आवश्यक भएको पनि बताए ।

पूर्वमन्त्री गोपाल दहितले २०५९ सालदेखि काठमाडौंका थारूलाई लक्षित गरी माघी पर्व महोत्सव गर्न लागिएको जानकारी दिए । उनले माघीमा ‘मघौटा नाच’ नाच्ने र चिसो मौसमबाट बच्न सकिने खानेकुरा खाने गरेको बताए । पहिले गाउँघरमा मात्रै सीमित माघी पर्व अहिले सहर हुँदै विदेशमा समेत पुगेकोमा उनले खुसी व्यक्त गरे ।

पछिल्लो समय अमेरिका, अष्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, कतारजस्ता देशमा पनि त्यहाँ रहेका थारूले माघी पर्व मनाउन थालेको पूर्वमन्त्री दहितको भनाइ छ । उनले भने, ‘पहिला थारूहरूले घोंगी खान लाज मान्थे तर अहिले काठमाडौंको हरेक होटलमा घोंगी परिकार राखिएको हुन्छ, यो सबैभन्दा धेरै बेचिने परिकार बनेको छ, यसको मुख्य कारण माघी महोत्सवको आयोजना नै हो ।’

तराईमा बस्ने थारूहरूले पौष्टिक खानाका रूपमा प्रयोग गर्दै आएको गँगटो, माछा, घोंगीजस्ता परिकार अहिले लोकप्रिय भएको दहितले बताए । उनले खाना मात्रै नभइ थारूका पहिरनको लोकप्रियता बढेको बताए ।

काठमाडौंमा थारुहरुको बसोबास बढ्न थालेसँगै खुल्ला मञ्च हुँदै टुँडिखेलमा माघी पर्व मनाउन थालिएको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिका पदाधिकारी सीताराम थारूको भनाइ छ । उनका अनुसार पहिले एक महिनासम्म माघी मनाउने गरिएकोमा पछिल्लो समय पुस २९ र माघ १ गते मात्रै मनाउने गरिएको छ ।

कसरी मनाइन्छ माघी ?

अधिकांश थारू कृषि पेसामा आबद्ध भएका र उनीहरू पहिले माघ महिनामा बाली भित्राउने गर्थे । माघमा सबै काम सकेर नयाँ अन्न खाने गरिन्थ्यो । जसका कारण थारू समुदायले प्रमुख चाडका रूपमा मनाउँदै आएको माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउन थालिएको छ । थारू समुदायले माघी माघ महिनाभर मनाउँछन् ।

शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

थारू समुदायमा पुसको अन्तिम दिन गाउँभरिका मानिस मिलेर सुँगुर काट्ने चलन छ । त्यस दिनलाई ‘जिता मरना दिन’ भनिन्छ । पुस मसान्तमा सुँगुरको मासु, ढिक्री, रोटी, माछा आदि परिकार तयार गरिन्छ । त्यस रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । विशेषगरी यस पर्वमा छोक्रा नाच (मघौटा नाच) र ढुमरु गाउने गरिन्छ ।

माघीको दिन बिहानै भाले बासेको पहिलो प्रहरमा सम्पूर्ण गाउँका मानिस सामूहिक रूपमा नदीमा नुहाउन जान्छन् र घरमा आएर आ–आफ्ना दिदीबहिनीलाई उपहार दिने गर्छन् । जसलाई ‘निसराउ’ भनिन्छ ।
त्यसपछि गाउँभरि ढोगसलाम गर्छन्, आशीर्वाद थाप्छन् र नाचगान गर्दै रमाउँछन् । यस पर्वमा उनीहरू वर्षभरिका सुखदुःखका कुरा साटासाट गर्छन् र घरपरिवारभित्र कामको बाँडफाँट गर्छन् । त्यही दिन सबै जना जम्मा भएर गाउँको महटावाँ (बरघर) र चौकीदार चुन्ने काम पनि हुन्छ ।

केही समय पहिले कमैया र कम्लहरीलाई छुटाउने, फुकाउने काम पनि यसै दिन गरिन्थ्यो । अहिले यस्तो प्रथा हटिसकेको छ । गाउँमा कामकाजको बाँडफाँट, गएको वर्षभरिको कामको समीक्षा र नयाँ नीतिनियम बनाउने जस्ता विविध काम पनि यही दिन गरिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu