Connect with us
Kapilvast Forest

माओवादी विधान सम्मेलनबारे बाबुरामको ४ बुँदे टिप्पणी

२०८०, ६ फाल्गुन आईतवारमा प्रकाशित

नेकपा माओवादी केन्द्रको हालै काठमाडौंमा भएको विधान अधिवेशनलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तादेखि सत्तासम्मको राजनीतिको निरन्तरता भएको टिप्पणी गरेका छन् ।

शनिबार फेसबुकमार्फत उनले माओवादी विधान अधिवेशनका बारेमा ४ बुँदे धारणा सार्वजनिक गरेका छन् । विधान अधिवेशनमा निरन्तरतामा क्रमभंगताको अभाव देखिएको भन्दै भट्टराईले लेखेका छन्, ‘…वर्तमान माओवादी नेतृत्वमा संविधानसभाबाट नयाॅ संविधान जारी भए यता चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको राजनीतिको निरन्तरता बाहेक अरू केही देखिएको छैन र अहिलेको विधान अधिवेशन पनि त्यसैको निरन्तरता मात्र देखियो ।’

उनले माओवादी जनयुद्ध र त्यसका उपलब्धीको भावनात्मक दोहन गर्दै संसदीय राजनीतिक खेलमा टिकिरहने निरर्थक प्रयास गर्नुसट्टा एक्काइसौं शताब्दीमा समाजवादको नयाॅ मोडेल निर्माण गर्नेतर्फ ध्यान दिन माओवादी नेतृत्वलाई सुझाव दिएका छन् ।

पढ्नुहोस् बाबुरामको धारणाको पूरा अंश :
माओवादी केन्द्रको विधान अधिवेशनवारे केही टिप्पणीः
१.निरन्तरतामा क्रमभंगताको अभाव

नेपालमा माओवादी आन्दोलनको चमत्कारिक उदय,विकास र शान्तिपूर्ण रूपान्तरणको मूल कारण वा रहस्य भनेकै वस्तुगत र आत्मगत परिस्थितिको ठोस मूल्यांकनको आधारमा विचार, नीति, कार्यक्रम र व्यवहारमा निरन्तरतामा क्रमभंग गर्ने र नयाॅ पहल गर्ने सोंच,साहस र शैली हो! तर वर्तमान माओवादी नेतृत्वमा संविधानसभाबाट नयाॅ संविधान जारी भए यता चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको राजनीतिको निरन्तरता बाहेक अरू केही देखिएको छैन र अहिलेको विधान अधिवेशन पनि त्यसैको निरन्तरता मात्र देखियो।

२. विचारको बन्ध्याकरण र सारसंग्रहवाद

राज्यको संविधान र दलको विधानको प्रस्तावनाले राज्य र दलको वैचारिक-राजनीतिक दिशा प्रष्ट्याउॅछ। माकेको नयाॅ विधानको प्रस्तावनामा कुनै सिर्जनशीलता,नयाॅपन,प्रष्टता छैन, बरू पुरानै विचार र केही नयाॅ शब्दावलीहरूको सारसंग्रहवादी ककटेल मात्र छ।उदाहरणकोनिम्ति “मार्क्सवाद-लेनिनवाद-माओवाद”(मा-ले-मा)लाई पार्टीको निर्देशक सिद्धान्त मान्ने जनयुद्धकालीन सोंच र बहुदलीय प्रतिस्पर्धी राजनीतिाटै ‘समाजवाद’को यात्रा गर्ने पछिल्लो कार्यदिशालाई घालमेल गरिएको छ! मा-ले-मा को शास्त्रीय वा प्रचलित अर्थ ‘सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति’ हो! यसरी एकै साथ दुइ वैचारिक डुंगामा चढेर पुग्ने कता हो? ‘सेतो’ भनेको ‘कालो’ हो भनेर कार्यकर्ता र जनतालाई ठग्न मिल्छ?

३.संगठनात्मक डेन्टिंग पेन्टिंग

विधानले पार्टीको विचार र राजनीतिलाई संगठन,नेतृत्व,शैलीमा ढाल्दछ र जनतासंग जोडेर कार्यदिशा कार्यान्वयन गर्न सहयोग गर्दछ! परन्तु मा-केको संगठनात्मक सिद्धान्त,ढाॅचा र शैलीमा कुनै नयां क्रमभंगता छैन! बरू स्टालिनको पालादेखि भ्रष्टीकृत भैसकेको “ जनवादी केन्द्रीयता” लाई अलिकति डेन्टिंग पेन्टिंग गरेर निरन्तरता दिएको छ! अहिलेको बहुवर्गीय अर्थ-राजनीतिक परिवेश र डिजिटल प्रविधिको युगमा त्यस्तो ब्यूरोक्रेटिक संगठनात्मक ढाॅचा र अतिकेन्द्रीकृत नेतृत्व प्रणालीले मा-केलाई घरको न घाटको बनाउने प्रबल सम्भावना छ!

४.भावनात्मक दोहन मात्र नहोस्

अतः मा-के नेतृत्वले यस्तो दोधारे,अस्पष्ट सोंच,नीति र शैली अवलम्वन गरेर ऐतिहासिक जनयुद्ध र त्यसका महत्वपूर्ण राजनीतिक उपलब्धीहरूहरूको भावनात्मक दोहन गर्दै संसदीय राजनीतिक खेलमा टिकिरहने निरर्थक प्रयास गर्नुसट्टा युगानुकूल विचार,राजनीति,संगठन,नेतृत्व,शैलीको छलाङमय विकास गर्दै एक्काइसौं शताब्दीमा समाजवादको नयाॅ मोडेल र बाटो निर्माण गर्नेतर्फ ध्यान दिने हो कि?

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu