इराकमा मृत्यु भएको रत्नबहादुरको शव कुर्दै परिवार
वैदेशिक रोजगारका क्रममा इराकमा मृत्यु भएका ४४ वर्षीय रत्नबहादुर घिमिरको शव नेपाल ल्याइदिन परिवारले स्थानीय सरकारसँग अनुरोध गरेका छन् । यही फागुन १३ गते इराकको होटलमा काम गर्दागर्दै घिमिरेको मृत्यु भएको समाचार एनआरएन इराकलाई उल्लेख गर्दै समाचार प्रकाशित भएको थियो ।
यतिबेला मोरङको मिक्लाजुङ –३ धोवेनीका आफन्त रतनबहादुरको शव कसरी नेपाल ल्याउने भन्नेमा चिन्तित छन् । उनीहरुले शव नेपाल ल्याइनका लागि स्थानीय सरकारसँग आग्रह गरेका छन् ।
घिमिरे परिवार यतिबेला शव नेपालसम्म ल्याउने व्यवस्थाको चाँजोपाँजो मिलाउन लागेका छन् । इराकमा नेपाली दूतावास नभएकाले शव झिकाउन समस्या भएको मृतकका भतिज रमेश घिमिरेले बताउनुभयो । घिमिरे वैदेशिक रोजकारीका सिलसिलामा सन् २०१५ मा इराक जानुभएको थियो । उहाँ साउदीअरबबाट कुबेत हुँदै इराक जानुभएको थियो ।
मृतकका दाजु ६३ वर्षीया गोपाल घिमिरेले इराकमा नेपाली दूतावास नहुँदा कहाँ सम्पर्क गर्नेसम्म थाहा नपाएको बताउनुभयो । ‘‘सास त भेटिनौं । लाशसम्म ल्याएर सदगत गर्न पाए, मोक्ष प्राप्ति हुने थियो ।’’, उहाँले भन्नुभयो ।
त्यस्तै, गत मङ्सिर १७ गते मोरङकै कानेपोखरी–७ का ४५ वर्षीय चन्द्रबहादुर बस्नेतको इराकमा मृत्यु भएको थियो । बस्नेतको शव ल्याउन झण्डै अढाई महिना लागेको छिमेकी खगेश्वर खतिवडाले बताउनु भयो । खतिवडाका अनुसार बस्नेतको शव फागुन ९ गते घरमा आइपुगेको हो । अहिले बस्नेतको दशगात्र किरिया कर्म चलिरहेको छ ।
शव ल्याउन १३ लाख रुपियाँ खर्च भएको खतिवडाको भनाइ छ । मोरङ ३ का प्रतिनिधिसभा सदस्य डा. सुनीलकुमार शर्माले एक लाख, कानेपोखरी गाउँपालिकाले दुई लाख रुपियाँ र इकाकको प्रवासी नेपाली समाजले १० लाख रुपियाँ सङ्कलन गरी बुझाएर शव ल्याएको खतिवडाको भनाइ छ । बस्नेत पनि इराकमा छुकिछिपि काम गरिरहनु भएको थियो ।