विश्वासको मत लिदै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ ।
मुख्यमन्त्री सोडारीले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।
यसअघि यही वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो । सत्ता साझेदार दल एमालेले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो ।
सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिए।
विश्वासको मत दिए पनि एमाले तत्काल प्रदेश सरकार सहभागी नहुने उनले बताए। प्रमुख सचेतक पालले भने “केन्द्रबाट अर्को निर्देशन नआउञ्जेलसम्म एमाले प्रदेश सरकारमा सहभागी हुने छैन।”
यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिनाभित्र अर्थात जेठ ५ गतेभित्र विश्वासको मत लिइ सक्नुपर्छ ।
नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाको १ र १ स्वतन्त्र सदस्य छन् ।