Connect with us
Kapilvast Forest

‘मर्न तयार छु, खानेपानीको व्यवस्था नमिलाई फर्केर गाउँ जान्नँ’

२०८१, १८ जेष्ठ शुक्रबारमा प्रकाशित

हाम्रो घर जनकपुरमा हो । छोरा, छोरी, नाति, नातिना सबै गरेर मेरो परिवारमा १४ जना छन् । पहिले हाम्रै घरमा चापाकल थियो । त्यही चापाकलको पानी खान्थ्यौं । चापाकल सुकेको मलाई याद छैन । तर, ३ वर्षअघि अलि हिलो–हिलो पानी आयो, त्यसपछि त पानी नै सुक्यो ।

कहिलेकाहीं यस्तै हुन्छ भनेर वास्तै गरेका थिएनौं । फेरि पोहोर पनि सुक्यो, अहिले पनि सुक्यो । आजभोलि त हिउँद मास सुरु हुन नपाउँदै चापाकल सुकिहाल्छ । घरको चापाकल सुकेपछि नजिकैको गंगासागर पोखरीको पानी खान्छौं ।

पोखरीमै बोरिङ गाडेको छ, त्यही पानी खाने हो । ३ वर्षदेखि यो समयमा हामी गंगासागर पोखरीकै पानी खाइराखेका छौं । सबैको घरको चापाकल सुकेकाले हामी मात्रै होइन, हाम्रो वरपरका सबैले त्यहींको पानी खाने हो ।

त्यो पानी पनि कहिले हिलैहिलो हुन्छ, सफा हुँदैन । जस्तो पाउँछौं, त्यस्तै ल्याउँछौं । त्यस्तै खान्छौं । कहिलेकाहीं बिरामी पनि परिन्छ । त्यो पानी लिन पनि साह्रै दुःख पाइन्छ । बिहानै ३, ४ बजे उठेर लाइनमा लाग्नुपर्छ ।

घरका नातिनातिनासँग जर्किन, बोत्तल बोकेर गएन भने पानी नै पाइँदैन । ११, १२ बजेसम्म उस्तै भीड हुन्छ । अहिले त सबै काम छोडेर खानेपानीको लाइन लाग्दै ठिक्क छ । घरमा बाख्राहरू पनि छन् । आफूले नै खान नपाएको बेला तिनीहरूलाई कसरी खुवाउने भन्ने चिन्ता हुन्छ ।

पानी नपरेपछि घाँसपात पनि राम्रोसँग पलाउँदैन । खेतीपाती र मजदुरी गरेर ज्यान पालिरहेका हामीलाई अहिले पानीकै पछाडि लाग्दालाग्दै हैरान छ । गाउँमा खेतीपाती नभएपछि हामीले काम पनि पाउन सकिराखेका छैनौं ।

हुनेखानेहरूले आफैं बोरिङ खनेर बिजुलीबाट पानी तानेका छन् । कोही, कोहीले आफैं ट्यांकरबाट पानी मगाउँछन् । हामी आफ्नो घरखेत नहुनेहरूले त्यो पनि सक्दैनौं । अरूले कहिले देलान् र खाउँला भनेर पर्खेर बस्ने हो । गंगापोखरीको पनि खान पाइएन भने हामी त पानी खान नपाएरै मर्छौं होला !

पहिले पनि पानी खान देऊ भनेर सबैलाई भन्यौं, वीरगञ्जसम्म पनि हिंडेका थियौं । पूरा भएन । अहिले पनि सरकारले पानीको केही व्यवस्था गरिदिन्छ कि भनेर २५ दिनसम्म हिंडेर काठमाडौं आएका हौं । आज यति धेरै दिन भइसक्यो, कोही सोध्न पनि आउँदैन ।

हिंड्दाहिंड्दै कति साथीहरू त बाटैमा बिरामी परे । मेरो पनि खुट्टामा फोका उठेर अहिलेसम्म दुखिराखेको छ । यसपालि त जसरी पनि सरकारलाई भेटेर जाने भन्ने सोचमा छौं । पानी नै खान नपाउने भएपछि गाउँ गएर के गर्नु ? बरु मर्न तयार छु, पानीको व्यवस्था नमिलाउँदासम्म गाउँ फर्केर जान्नँ ।

(जनकपुरकी मुखियासँग अनलाइनखबरकर्मी विकास रोकामगरले गरेको कुराकानीको सम्पादित अंश ।)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu