Connect with us
Kapilvast Forest

समाजवादको आधार तयार पार्न परिवर्तनका उपलब्धिको रक्षा गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

२०८१, २३ जेष्ठ बुधबारमा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्न परिवर्तनका उपलब्धिको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षणमा उहाँले लामो सङ्घर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्ने प्रमुख कार्यभार पूरा गर्दै समाजवाद उन्मुख लोकतन्त्र स्थापना गर्नु राष्ट्रिय आवश्यकता हो भन्नुभयो ।
उहाँले लामो सङ्घर्षपछि भएको राजनीतिक उथलपुथलबाट राजनीतिक अधिकारसहित जनताको जीवनस्तरमा समेत सुधार भएको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “हामी अहिले समाजवाद उन्मुख चरणबाट गुज्रिरहेका छौँ । समाजवादको आधार तयार पार्न राजनीतिक परिवर्तन र उपलब्धिलाई माध्यम तथा साधन बनाएर सामाजिक आर्थिक रूपान्तरण गर्नुपर्दछ । विकास र समृद्धिमा फड्को मार्नुपर्दछ ।”

परम्परागत संसदीय गणन्तन्त्रको रक्षा गर्दै समाजवाद उन्मुख लोकतन्त्र स्थापना गर्नु राष्ट्रिय आवश्यकता रहेको उहाँको भनाइ छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिको पक्षमा महत्त्वपूर्ण काम गरेको र जनतामाझ ती कामको प्रचारप्रसार गरी आवश्यक सुझाव लिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेतृत्व, पार्टीको विचार र राष्ट्र निर्माणको अभियान अगाडि बढाउन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj