Connect with us
Kapilvast Forest

सरकार जिम्मेवारीपूर्वक अघि बढ्छ : प्रधानमन्त्री ओली

२०८१, ४ श्रावण शुक्रबारमा प्रकाशित

प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकार जिम्मेवारीपूर्वक एवम् गम्भीर रुपमा अगाडि बढ्ने बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेद्वारा प्रधानमन्त्री ओलीलाई सुझावसहितको प्रतिवेदन प्रस्तुत कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “सरकार जिम्मेवारपूर्वक जान्छ, गम्भीर रुपमा जान्छ । यो सुझाव सरकारलाई नै दिइएको हो, विभिन्न विषयमा आवश्यकता अनुसार सुझाव आइरहुन् । पार्टी अध्यक्षको हैसियतले धन्यवाद र प्रधानमन्त्रीको हैसियतले पनि धन्यवाद ।”

प्रधानमन्त्री ओलीले कस्ता काम कसरी गर्नुपर्छ भनेर विभिन्न पक्षमा विश्लेषण एवम् सुदृढीकरणसहितको सुझाव प्राप्त भएकोमा कार्यदललाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारका निम्ति कार्यसम्पादन गर्न उपयोगी हुने, अरु राजनीतिक दलले पनि विरोध मात्र गर्ने होइन, रचनात्मक ढंगबाट अवस्था यस्तो छ । यस्तो काम यसरी गर्न सकिन्छ भनेर, समाधानका चुनौती के के छन् ?” देशलाई कसरी अग्रगमन र विकासको बाटोमा लाने भन्ने सन्दर्भमा सुझाव राख्नुभएकोमा धन्यवाद ।” अरु राजनीतिक दलबाट पनि रचनात्मक सुझावको अपेक्षा गरिएको उहाँको भनाइ छ ।

उहाँले यी सुझावलाई सम्बन्धित मन्त्रालयमा पठाइने र छलफल गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकारको कामलाई अगाडि बढाउन यो हामी सम्बन्धित मन्त्रालयलाई पठाउँछौं र छलफल गर्छौं ।समृद्ध नेपाल, सुखी नेपालीको लागि हामीले विगतमा कस्ता नीति लिन खोज्यौं ? भनेर यो रेकर्डको रुपमा रहनेछ ।”

उपमहासचिव ज्ञवालीले नौ वटा शीर्षकमा सुझाव मागिएको भन्नुहुँदै आगामी तीन वर्षभित्र गर्न सकिने बढीमा दश वटा ठोस कार्यक्रम सुझावमा पेश गरिएको जानकारी दिनुभयो ।

गत असार २१ गते एमालेको ३३ विभागमध्ये ३२ विभागको प्रतिनिधित्व रहेको बैठकले सात दिनको समय सीमा तोकेर नयाँ सरकारका लागि आवश्यक सुझाव दिन विभागलाई निर्देशित गरेको थियो । जसमध्ये २८ वटा विभागहरुबाट सुझाव संकलन भएको उहाँको भनाइ छ ।

ज्ञवालीले भन्नुभयो, “समस्याको पहिचान सही ढंगले गरिएको छ र निकालिएका निष्कर्ष तथा सुझाव महत्त्तवपूर्ण छन् । यी सुझावको कार्यान्वयनले सम्बन्धित मन्त्रालयको कार्यसम्पादन र भूमिकालाई थप मजबुत बनाउने नै छ, समग्र सरकारको प्रभावकारिता पनि अभिवृद्ध गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”

ज्ञवालीले मुख्यगरी सुशासन, विकास निर्माणका काममा तीव्रता, रोजगारी सिर्जना, आर्थिक शिथिलताको अन्त्य, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धि हासिल गर्ने विषय सुझावमा उल्लेख गरिएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu