मदरसा शिक्षा मुलप्रवाहिकरणमा नआउँदा समस्या: अध्यक्ष पठान
सनिउल्ला धोबी-
राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालको अध्यक्ष अकरम पठानले मदरसा शिक्षा मुलप्रवाहिकरणमा नआउनुका कारण धेरै समस्या सिर्जना भएको बताउनु भएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा सोमबार आयोजित मदरसा शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पठानले यस्तो बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मदरसाहरु अझै पनि मुख्य शैक्षिक प्रणालीमा समावेश हुन सकेका छैनन्, जसकारण विद्यार्थीहरुले सरकारी तथा अन्य शैक्षिक अवसरहरुबाट वञ्चित हुनु परिरहेको छ । यसलाई सुधार नगरेसम्म मुस्लिम समुदायको शैक्षिक प्रगति सम्भव छैन ।”
विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी (थारू) ले मुस्लिम समुदाय र बालबालिकाका लागि गाउँपालिकाले धेरै सहयोग गरेको उल्लेख गर्दै मदरसा व्यवस्थापनका लागि बजेट पनि बिनियोजन गरेको बताउनुभयो ।
उक्त कार्यक्रम राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा मुस्लिम बालबालिकाको अवस्था, मदरसाको भौतिक संरचना र बालबालिकाको मदरसामा पहुँचबारे वृहत अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा वडा नं ७ का अध्यक्ष दिनेश कुमार चौधरी, वडा नं ५ का अध्यक्ष अनवर खान, समाजसेवीहरु बृज राज चौधरी, रफीक खान, विजय चौधरी, अली हसन खाँ, कम्मा खानलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
मदरसा शिक्षाको वकालत गर्दै मौलाना अब्बास अली, मौलाना अकरम, मौलाना सद्दाम हुसैन मन्सूरी, र मौलाना अखलख अन्सारीले पनि आफ्नो विचार राख्नुभयो । कार्यक्रमको सञ्चालन मौलाना मुजिब उर्रहमानले गर्नुभएको थियो भने कार्यक्रममा विद्यार्थी, अभिभावक, र अन्य अतिथिहरूको पनि उपस्थिति थियो ।