Connect with us
Kapilvast Forest

लामिछानेसहितको मुद्दामा सरकारी वकिलले जवाफी बहस गर्दै, आजै थुनछेक आदेश आउने संभावना

२०८१, २५ पुष बिहीबारमा प्रकाशित

पोखरा
पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलगायत सातजनाविरुद्धको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने भएका छन्। सभापति लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएपछि बुधबार जाहेरवाला सहकारी पीडिततर्फका कानुन व्यवसायीले बहस गरेका थिए।प्रतिवादीका तर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्ने जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। उनका अनुसार आजै थुनछेकसम्बन्धी आदेश आउने संभावना छ।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेसहित सातजना प्रतिवादीको बहस जारी छ। सहकारी ठगीका आरोपित लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी,लिला पछाई,रामबहादुर खनाल,मीना गुरूङ ,कृष्णबहादुर गुरुङ र आरती गुरूङविरुद्ध थुनछेक बहस जारी छ। थुनछेक बहसपछि लामिछानेलगायत सहकारी ठगीका आरोपितलाई पुर्पक्षका लागि थुनामै राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।
लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय,कास्कीले लामिछानेसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो।सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ । यस्तै लामिछानेसँगै जोशी,पछाई, गुरूङ र खनालविरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरिएको छ।लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो दाबीसहति मुद्दा दर्ता गरिएको छ। यस्तै पूर्वडीआईजी जोशीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र दायर गरिएको छ। जोशीले ७४ करोड, ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा गैरकानुनी ढंगले आर्जन गरेको दाबी गर्दै बिगो कायम गरिएको छ।यसैगरी पछाईंलाई २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो कायम गरिएको छ। अर्का प्रतिवादी रामबहादुर खनाललाई १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ बिगो कायम गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj