Connect with us
Kapilvast Forest

नदीजन्य पदार्थको ठेक्का नहुदाँ कपिलवस्तुको विकास निर्माणकार्य प्रभावित

२०८१, २५ पुष बिहीबारमा प्रकाशित

फाइल तस्बिर

सनिउल्ला धोबी कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकाले समयमा नदीजन्य पदार्थको ठेक्का निकासी नगर्दा विकास निर्माणका काममा गम्भीर समस्या उत्पन्न भएको छ । निर्माण सामग्रीको अभावले सडक, भवन, र अन्य पूर्वाधार परियोजनाहरू अलपत्र परेका छन ।

समयमै ठेक्का प्रक्रिया नहुँदा स्थानीय विकास योजनाहरू प्रभावित भएका छन । निर्माण सामग्रीको अभावले मात्र नभई खोलानाला सञ्चालन नहुँदा मजदुरहरू बेरोजगार भएका छन् भने बजारको आर्थिक गतिविधि सुस्त भएको छ ।

नदीजन्य पदार्थ निकासी नहुँदा चन्द्रौटामै निर्माण भएको प्रदेश स्तरीय सरुवा रोगसमेत प्रभावित भएको छ । यसैगरी हुलाकी राजमार्ग, महाराजगंज नगरपालिका लगायतका निर्माण कार्यमा समेत असर परेको छ ।
निर्माण व्यवसायीहरूले नगरपालिकासँग पटकपटक ठेक्का प्रक्रियालाई तत्काल अघि बढाउन माग गरेका छन । उनीहरूको भनाइमा, ढिलाइले स्थानीय विकासमा ठूलो अवरोध पुर्याएको छ र यसले आर्थिक रूपमा समेत नकारात्मक असर पारेको छ ।

शिवराज नगरपालिकाको प्राविधिक शाखा प्रमुख रामजी नेपालीले नदीजन्य पदार्थ ठेक्का प्रक्रिया अबको केही हप्ताभित्रै सुरु हुने जानकारी दिनुभएको छ । उहाँका अनुसार वन मन्त्रालय र डिभिजन वन कार्यालय गौतम बुद्धसँग सहकार्य गरी प्रक्रिया अघि बढाइँदैछ ।

प्रमुख रामजी नेपालीले सहकार्यको अन्तिम चरणमा पुगेको र चाँडै ठेक्का प्रक्रिया औपचारिक रूपमा सुरु हुने बताएपछि निर्माण व्यवसायीहरूले समस्या समाधानको आशा व्यक्त गरेका छन् ।

स्थानीयवासीहरूले निर्माणका कामलाई पुनः तीव्रता दिन र मजदुरहरूको रोजगारी सुनिश्चित गर्न नगरपालिकाले अविलम्ब ठोस कदम चाल्नुपर्ने माग गरेका छन । विकास योजनाको समयमै कार्यान्वयन हुन नसक्दा जनजीवन प्रभावित भएको उनीहरूको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj