Connect with us
Kapilvast Forest

नर्सको नयाँ गन्तव्य खाडी मुलुक

२०८१, १६ माघ बुधबारमा प्रकाशित

नेपालमा नर्सिङ अध्ययन गर्न चाहनेहरूको सङ्ख्या अधिक भए पनि नेपालमै बसेर काम गर्न दृढ नर्स भेट्टाउन मुस्किल हुँदै गएको छ । नेपालमा अध्ययन गरेका प्रायः नर्सको सपना विकसित देशमा गएर सेवा गर्ने बन्दै छ । पछिल्लो समय अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडालगायत युरोपियन मुलुकका अलावा खाडी मुलुकमा समेत नेपाली नर्सहरू पलायन हुँदै छन् । विशेष गरी नेपालमा नर्सको तलब, सुविधा अत्यन्त न्यून रहेका कारण नर्सहरू बिदेसिन बाध्य भएका हुन् ।
निलु शर्मा (नाम परिवर्तन) ले काठमाडौँको एक निजी अस्पतालमा बर्सौं काम गर्नुभयो । उक्त अस्पतालमा उहाँको तलब १९ हजार रुपियाँ मात्र थियो । १९ हजार तलबले घरखर्च चलाउन मुस्किल भएपछि उहाँ छ महिनाअघि मात्र साउदीमा काम गर्न जानुभएको छ । साउदीमा उहाँको न्यूनतम तलब नेपाली एक लाख ५० हजार छ । यसबाहेक बस्नलाई अस्पतालले क्वार्टरको व्यवस्था गरेको छ भने खानका लागि आफैँले खर्च गर्नु पर्दछ ।
शर्माले नेपालको तलबले पकेट खर्च चलाउन मुस्किल परेको जानकारी दिनुभयो । “बर्सौं काम गर्दा जीवन धान्न मुस्किल भएपछि साउदी आएकी हुँ,” शर्माले भन्नुभयो, “तलबको हिसाबले साउदीमा सन्तुष्ट छु ।” उहाँसँगै झन्डै ३०० नेपाली नर्सले साउदीको अलहबी अस्पतालमा काम गर्ने गरेका छन् । बिएन गरेर गएका नर्सहरूको तलब दुई लाखभन्दा माथि हुन्छ । विराटनगरकी सचु अलाम (नाम परिवर्तन) ले विराटनगरको न्युरो अस्पतालमा केही वर्ष काम गर्दा मासिक जम्मा ११ हजार रुपियाँ तलब पाउनुभएको थियो । एक वर्ष विद्यालय नर्समा काम गर्नुभयो । उहाँको बच्चा हुर्कंदै गएपछि विद्यालय नर्समा पाँचौँ तहको तलबले पुग्न छाड्यो ।

साउदीमा बिनालगानी काम गर्ने अवसर प्राप्त हुने र राम्रो कमाइ हुन्छ भनेपछि एक वर्षअघि साउदी जानुभयो । उहाँ साउदीमा सन्तुष्ट हुनुहुन्छ । उहाँको तलब डेढ लाखभन्दा बढी छ । “तलबमा हामी सन्तुष्ट छौँ, आलमले भन्नुभयो तर अन्य पक्ष आफ्नो देश जस्तो नहुने रहेछ ।” स्वास्थ्य मन्त्रालय अन्तर्गतको नर्सिङ महाशाखाको तथ्याङ्क अनुसार हरेक वर्ष एक हजारभन्दा बढी नर्स बिदेसिने गरेका छन् । महाशाखाको तथ्याङ्क बाहेकका नर्स पनि विदेश जाने गरेका छन् । कतिपय नर्सिङ अध्ययन र उतै काम गर्नका लागि विदेश जाने गर्दछन् ।

महाशाखाका अनुसार २०५९ देखि २०८१ को असोजसम्ममा ४३ हजारभन्दा बढी नर्सले विदेश जान अनुमतिपत्र (एनओसी) लिएका छन् । एनओसी लिएकामध्ये ९० प्रतिशत नर्स विदेश गइसकेको र बाँकी १० प्रतिशत जाने तयारीमा छन् । नेपाल नर्सिङ काउन्सिलको तथ्याङ्क अनुसार गत मङ्सिरसम्म दर्ता भएका नर्सको सङ्ख्या एक लाख २१ हजारमध्ये २३ हजार ३७० नर्स अमेरिका गएका छन् । यस्तै ११ हजार २८९ अस्ट्रेलिया, दुई हजार ८०४ जना युएई गएका छन् । यीबाहेक बेलायत, साउदी अरेबिया, कतार, बहराइनसहितका देशलाई नेपाली नर्स जाने गरेका छन् । नर्सिङ महाशाखाकी निर्देशक हिराकुमारी निरौलाले नेपालमा नर्सको उचित तलब, सुविधा नभएपछि बिदेसिने गरेको बताउनुभयो । “नेपालमा कसरी नर्सलाई टिकाउन सकिन्छ भनेर लाग्नुपर्ने हुन्छ, निर्देशक निरौलाले भन्नुभयो, “नेपाली नर्सहरू बिदेसिने क्रम बढ्दा नेपालमा नर्स पाउन मुस्किल हुने सम्भावना हुन्छ ।”

नेपाल नर्सिङ सङ्घकी अध्यक्ष चन्द्रकला शर्माले नेपालमा नर्स उत्पादन भए पनि नेपालकै लागि सेवा गर्ने नर्सको सङ्ख्या पर्याप्त नभएको बताउनुभयो । उहाँले अमेरिका, क्यानडा, अस्ट्रेलियालगायतका विकशित देश जानका लागि नेपालमा अध्ययन हुने भन्दै यही अवस्था रहे नेपालमा नर्स नपाइने बताउनुभयो । उहाँले नेपाली नर्स विदेश पलायन हुने क्रम रोक्न सरकारले केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखा परेका समस्या समाधान गर्नुपर्ने बताउनुभयो । निजी अस्पतालमा काम गर्ने नर्सको तबल, सुविधा सरकारीसरह हुनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष शर्मा सुरक्षित वातावरणमा काम गर्न पाउने व्यवस्था नभए नर्सको विदेश पलायन रोक्न नसकिने बताउनुहुन्छ ।

यसैबिच मङ्गलबार ६३ औँ नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइयो । नर्सहरूको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ माघ १५ गते नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो । सङ्घ स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाइँदै आइएको छ । ‘आजको आवश्यकता नर्सलाई सुरक्षित र सम्मानजनक कार्य व्यवस्था’ भन्ने नाराका साथ नर्सिङ दिवस मनाइएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu