आगलागीबाट मन्त्रालयका महत्वपूर्ण कागजातमा क्षति छैन : मन्त्री यादव
काठमाडौं
खानेपानीमन्त्री प्रदीप यादवले आज बिहान खानेपानी मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अति आवश्यक एवम् महत्वपूर्ण कागजातमा कुनै क्षति नभएको स्पष्ट पारेका छन् ।आगलागीको खबर पाएपश्चात तत्काल मन्त्रालय पुगेका मन्त्री यादव, सचिव ई प्रमिलादेवी शाक्य बज्रचार्य, सहसचिव रमाकान्त दुवाडीसहितको टोलीले आगलागीले जलेको कार्यकक्षको निरीक्षण गरेका थिए । निरीक्षणपश्चात सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा मन्त्री यादवले आगलागीबाट मन्त्रालयका अति आवश्यक एवम् महत्वपूर्ण कागजातमा भने कुनै क्षति नभएको बताए ।‘मैले मन्त्रालयका आवश्यक कागजात आफ्नो टेबलमा राख्दिनँ, सबै सही गरेर सचिवज्युलाई पठाउने गर्छु । सामान्य केही पढ्नका लागि राखिएका कागजातबाहेक कुनै पनि महत्वपूर्ण कागजात नष्ट भएको छैन,’ उनले भने ।
विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका गर्दै मन्त्री यादवले भने, ‘घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । शुक्रबार नै विद्युतको तार पोलिएको गन्ध आएको थियो । मैले कार्यालय सहयोगीलाई यसको जानकारी गराएको थिएँ । पानी तताउने मेसिन होला भनेर विद्युतका सबै प्लगहरू निकाल्न लगाएको थिएँ । आज आगलागी भयो ।’शनिबार बिहान करिब ८ बजेर ४० मिनेटमा भएको उक्त आगलागीले खानेपानीमन्त्री यादवको कार्यकक्षमा पूर्ण रूपमा क्षति पुर्याएको छ । कार्यकक्षमा रहेका दुईवटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सीसी क्यामेराको मनिटर लगायतका सामग्रीमा क्षति भएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट करिब ५० लाखसम्मको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी तथा दमकलको सहायताले ९ बजेर १५ मिनेटमा आगो निभाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।