Connect with us
Kapilvast Forest

कपिलवस्तु सहित देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो

२०८१, १४ फाल्गुन बुधबारमा प्रकाशित

कपिलवस्तु –
कपिलवस्तुमा महाशिवरात्रिको मेलामा चहलपहल निक्कै बढेको छ। हिन्दू धर्मावलम्बीहरूको लागि विशेष महत्व राख्ने यस पर्वमा जिल्लाका विभिन्न मन्दिरहरूमा आज बिहानै देखि भक्तजनहरूको अत्याधिक भीड लागेको छ। विशेषगरी, शिवगडी,धानखोला,रमाद्वा,तौलेस्वरनाथ मन्दिर लगायतका शिव मन्दिरहरूमा श्रद्धालुहरू बिहानैदेखि पूजा, अर्चना तथा दर्शन गर्न लामबद्ध देखिएका छन्।

सबैजसो शिवालय मन्दिरहरुमा विविध सांस्कृतिक कार्यक्रम, भजन-कीर्तन,धार्मिक प्रवचन साथै भण्डारा समेत रहेका छन । साथै, मेलामा विभिन्न परिकारका परम्परागत खाद्यवस्तुहरू, पूजाका सामग्री तथा अन्य सामग्रीको व्यापारिक स्टल समेत रहेका छन् । मेलामा जिल्ला तथा छिमेकी जिल्लाहरु बाट पनि हजारौँ भक्तजनहरूको बाक्लो उपस्थित देखिएको छ । उनीहरूले भगवान् शिवको आराधना गर्दै आफू र परिवारको सुख-समृद्धिको कामना गरिरहेका छन्।

यस्तै आज महाशिवरात्रि पर्व पशुपतिनाथसहित देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा घुइँचो छ ।

पशुपति क्षेत्र विकास कोषले २ सेकेण्डमा १० जनाले पशुपतिनाथ मन्दिरको दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको दाबी गरेको छ ।आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र लगायत पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।

आजै नेपाली सेना दिवस परेकाले नेपाली सेनाले टुँडिखेलमा शिवरात्रि विशेष समारोह पनि आयोजना गर्दैछ । पशुपतिनाथ दर्शन र सेना दिवसका कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj