प्रचण्डको तस्वीर जलाउने राप्रपा कार्यकर्ता पक्राउ
काठमाडौं –
पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्वीर जलाएको आरोपमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीका एक नेता पक्राउ परे । पक्राउ पर्ने कालिकोटका निराजन बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव समेत हुन् । उनलाई भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
उनले हेटौंडाको एक कार्यक्रममा शनिबार प्रचण्डको तस्वीर जलाएका थिए । उनले कार्यक्रममा ‘तपाईंहरू यो मान्छेलाई त चिन्नुहुन्छ होला नि’ भन्दै प्रचण्डको तस्वीर जलाएका थिए । उनलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेर प्रहरीले मकवानपुर पठाएको छ । डीएसपी श्यामु अर्यालले बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उपस्थित गराइएको स्वीकार गरेका छन् ।
‘हिजो तस्वीर जलाएको विषयमा यहाँ जाहेरी परेको रहेछ, के कसो रहेछ भनेर हामीले बुझ्ने क्रममा प्रहरी कार्यालयमा झिकाएका हौं,’ उनले अनलाइनखबरसँग भने, ‘सोधपुछपछि मात्रै के कसो हो, थाहा हुन्छ । अहिले नै कुनै आरोप वा अरु के हो ? खुलेको छैन ।’ विचार तथा अभिव्यक्ति स्वतन्त्रताको वकालतकर्ता तारानाथ दाहाल सार्वजनिक वृत्तमा रहेको व्यक्तिको तस्वीर जलाउने कामलाई विरोधको एउटा स्वरुप मान्छन् ।
‘प्रचण्डको राजनीतिक वक्तव्यको विरोधमा तस्वीर जलाइएको हो । त्यो काम अभिव्यक्तिको एउटा प्रकार हो,’ नेपाल पत्रकार महासंघका पूर्वसभापतिसमेत रहेका दाहाल भन्छन्, ‘त्यत्तिको भरमा व्यक्ति पक्राउ हुनु आपत्तिजनक विषय हो । यस्ता गतिविधिले आलोचना र विरोधको दायरालाई साँघुरो बनाउँछ ।’ इन्टरनेटका माध्यमबाट हुने विरोध र प्रतिरोधका घटनामा प्रहरीले साइबर अपराधका मुद्दा चलाउने क्रम तीव्र छ । तर सार्वजनिक कार्यक्रममा तस्वीर जलाएकाले राप्रपाका युवा नेता बममाथि त्यो सम्भावना नभएपछि अभद्र व्यवहार वा त्यस्तै प्रकृतिको आरोपमा म्याद थपेर हिरासतमा राख्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी बताए ।