शाहद्वारा पलास फुललाई प्रदेश फूल घोषणा गर्न माग
सनिउल्ला धोबी
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह ले लुम्बिनी प्रदेश सरकारलाई पलास फूललाई प्रदेशको आधिकारिक फूल घोषणा गर्न माग गर्नुभएको छ।
नगरप्रमुख शाहले हिमाल क्षेत्रमा लालीगुराँस विशेष पहिचानको रूपमा रहेको भन्दै तराई क्षेत्रको विशिष्टता झल्काउने पलास फूललाई प्रदेश फूलको रूपमा मान्यता दिनुपर्ने तर्क गर्नुभएको छ।
उहाँका अनुसार पलास फूल पर्यावरणीय, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण छ। यसको आकर्षक राताम्मे रंग र जैविक विविधता संरक्षणमा हुने योगदानलाई दृष्टिगत गर्दै प्रदेश सरकारले औपचारिक रूपमा यसलाई लुम्बिनी प्रदेशको प्रतीक फूल घोषणा गर्नुपर्ने उहाँको जोडदार माग छ।
तराई-मधेसको पहिचान झल्काउने पलास फूल उत्तर प्रदेश र झारखण्डको राज्य पुष्प पनि हो। नेपालमा समेत यसको जैविक महत्त्व रहेको र परम्परागत रूपमा पूजा, वन संरक्षण तथा अन्य विभिन्न प्रयोजनमा प्रयोग हुँदै आएको छ।
नगरप्रमुख शाहको पहलसँगै यो विषय प्रदेश सरकारको नीति निर्माण तहमा छलफलको विषय बन्ने अपेक्षा गरिएको छ।





