मुलुक गम्भीर अवस्थामारहेकोले, क्रान्तिका लागि तयार रहन रवि लामिछाने अपिल
काठमाडौं –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले क्रान्तिका लागि समय आउँदै गरेको र त्यसका लागि तयार रहन अपिल गरेका छन् ।
शुक्रबार उच्च अदालत पाटन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा सभापति लामिछानेले यस्तो बताएका हुन् ।लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध निवेदन लिएर उच्च अदालत पाटन पुगेका थिए ।उच्च अदालतबाट निस्कने क्रममा लामिछानेले सरकार नांगिएको हुनाले सरकारकै लाज छोप्नका लागि अदालतहरूमा हिँडेको बताए ।
सँगै उनले भनेका छन्, ‘समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु । गेट रेडी फर द रेभुलेसन ।’उनले आफ्नो बोल्ने समय एकदमै नजिक आउँदै गरेको र त्यो दिन आएपछि धेरैको बोली बन्द हुने पनि जिकिर गरे ।‘मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ । अहिले म बोल्यो भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला,’ लामिछानेले भने, ‘म बोल्यो भनेर गाह्रो भएको होला । जब बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली चाहिँ बन्द हुन्छ ।’ उनले अहिले आफू आवेग र उत्तेजनामा नभएको पनि प्रष्ट पारे ।