स्वर्गीय अदैको स्मृतिमा ढोरपाटनमा प्रतीक्षालय निर्माण हुने
कपिलवस्तु, राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सचिव केर सिंह अदैका पिता स्वर्गीय हर्क बहादुर अदैको ९ दिनको पुण्य तिथिमा राष्ट्रिय जनमोर्चा कपिलवस्तुले खरेन्द्रपुरमा शोकसभा सम्पन्न गरेको छ ।
उक्त शोकसभाको अध्यक्षता विनिता अदैले गर्नुभएको थियो भने अखिल नेपाल ट्रेड युनियन महासंघ (अनतुक) का केन्द्रीय अध्यक्ष लोकराज भुसाल प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि भुसालले अदैले भौतिकवादी दृष्टिकोणलाई व्यवहारमा अपनाएको र उहाँको साहसिक कदम प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । साथै, उहाँले रुढीवादी अन्धविश्वास चिर्न समय लाग्ने भए पनि अदैको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
शोकसभामा राष्ट्रिय जनमोर्चा कपिलवस्तुका जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासे, नेकपा मसालका जिल्ला प्रवक्ता माधव भाट क्षेत्री, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका खुम रायमाझी लगायतले स्वर्गीय हर्क बहादुर अदैले समाज सुधारका लागि पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो ।
उहाँहरूले अदैले रुढीवादी संस्कृति र अन्धविश्वासविरुद्ध उठाएको कदम ऐतिहासिक रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामलाल काफ्ले र नेपाली कांग्रेसका प्रतिनिधि गंगाधर भट्टराईले आफूहरूले यस्तो कार्य गर्न नसके पनि अदैले चालेको कदम सही रहेको स्वीकार गर्नुभयो ।
केर सिंह अदैले शोकसभाका क्रममा आफ्नो पिता हर्क बहादुर अदैको जीवनी र पारिवारिक पृष्ठभूमिबारे जानकारी गराउनुभएको थियो । उहाँका अनुसार, हर्क बहादुर अदैले गाउँमा विभिन्न सामाजिक कार्य गर्नुभएको थियो ।
ढोरपाटन मोराङ गाउँमा मनोनीत सदस्यका रूपमा काम गर्दै राष्ट्रिय जनमोर्चाको प्रशिक्षणका लागि बागलुङसम्म पुग्नुभएको थियो । साथै, कपिलवस्तु आइपश्चात देउराली क्षेत्रमा आफ्नै पैसाले पानीको लागि नल गाड्ने तथा पुल निर्माण गर्ने जस्ता समाजसेवी कार्य गर्नुभएको थियो ।
स्वर्गीय पिताको सम्झनामा केर सिंह अदैले ढोरपाटनमा प्रतीक्षालय निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
साथै, आफ्नी आमाको नाममा खरेन्द्रपुरस्थित श्री समय थान माविमा अक्षयकोष स्थापना गरी हरेक वर्ष पाँच जना गरीब, अपांग, अनाथ तथा विद्यालयका प्रथम विद्यार्थीलाई जनही ५०० रुपैयाँ प्रदान गर्दै आइरहनुभएको छ ।