प्रेस चौतारी कपिलवस्तुको बैठकमा के के निर्णय भयो ?
कपिलवस्तु– प्रेस चौतारी कपिलवस्तुको दोस्रो नियमित बैठक सम्पन्न भएको छ । उक्त बैठक शनिबार जिल्लाको बुद्धभूमि नगरपालिका−२ गोरुसिंगेमा सम्पन्न भएको जिल्ला सचिव सन्जिव गहतराजले जानकारी दिए ।
बैठकले कार्यसमिति सदस्यमा गुलाम अलीलाई मनोनित गर्नेसहितका विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको उनले जानकारी दिए । बैठकले आगामी वैशाख ८ गते नयाँ बर्षको शुभकामना आदानप्रदानसंगै प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
प्रेस चौतारीका लेखा समितिका अध्यक्ष अर्जुन श्रेष्ठले आगामी पत्रकार महासंघको निर्वाचनको तयारीका लागि आजैबाट जुट्नुपर्ने बताए । चौतारीले अन्य पत्रकार संगठनभन्दा पृथक भएको उदाहरण प्रस्तुत गर्दै आएको बताउँदै आगामी दिनमा एकतावद्ध भएर थप शसक्त रुपमा अघि बढ्न आग्रह गरे ।
बैठकका प्रमुख वक्ता नेकपा एमाले कपिलवस्तुका जिल्ला कमिटी सचिव सिवि गहतराजले प्रचारप्रसारका गतिविधिलाई प्रभावकारी रुपमा गर्न आवश्यक रहेको बताए ।
अहिलेको समय सामाजिक संजालको समय भएकाले चौतारीका पत्रकारहरुले विवेकपूर्ण तवरले सदुपयोग गरि पार्टीका गतिविधिलाई प्राथमिकता दिएर प्रचारप्रसार गर्नुपर्ने उनको भनाई छ ।
प्रेस चौतारी कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझिले चौतारीलाई थप सुदृढ बनाएर अघि बढाउन आफ्नो टिम विगतमा भन्दा पृथक तरिकाले लागेको बताए ।
उनले पार्टीका गतिविधिलाई प्राथमकिता दिएर समाचारका माध्यमबाट प्रकाशन गरिरहेको बताए । उनले कार्ययोजनासहित प्रेस चौतारी कपिलवस्तु एकबद्ध भएर अघि बढिरहेको बताए ।
सो बैठकमा प्रेस चौतारीको केन्द्रिय र प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।