सामुदायिक वनको ५० बिघा जग्गा बुटवल मेडिकल कलेजलाई
बुटवल –
जग्गा प्राप्तिमा ढिलाइ र बजेट अनिश्चितताका कारण ६ वर्षसम्म रोकिएको बुटवल मेडिकल कलेज निर्माणको काम अब अघि बढ्ने आशा पलाएको छ ।आइतबार शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको विशेष साधारण सभाले सामुदायिक वन क्षेत्रमा निर्माण हुने बुटवल मेडिकल कलेजका लागि ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरेपछि अब निर्माणको काम अघि बढ्ने आशा पलाएको हो ।
समुदायले संरक्षण गरेको जंगल भएको र बुटवल मेडिकल कलेजलाई उक्त जग्गा भोगाधिकारका लागि सामुदायिक वनको सिफारिस आवश्यक पर्ने भएकाले सामुदायिक वनले विशेष साधारणसभा आयोजना गरी मेडिकल कलेजलाई ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव सर्वसम्मत पारित गरेको वन समितिका अध्यक्ष रवीन्द्र बस्नेतले बताए ।
वन मन्त्रालयबाट ५० बिघा जग्गाको भोगाधिकार प्राप्त भए पनि सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको हुँदा सामुदायिक वनले लामो समयसम्म वन क्षेत्र मेडिकल कलेजलाई दिने निर्णय नगर्दा काम अघि बढ्न सकेको थिएन ।