कुन अदृश्य शक्तिले गौतमबुद्ध विमानस्थल चल्न दिएन भन्दै व्यवसायीको गरे प्रश्न ?
बुटवल –
उद्घाटनको तीन वर्ष बित्न लाग्दासमेत गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय नियमित हुन नसकेपछि रुपन्देहीका होटेल तथा पर्यटन व्यवसायीहरु निराश र छटपटीमा छन् । कारण उनीहरुको लगानी हो । अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर तारे होटेलसहित पर्यटन सम्बन्धित विभिन्न व्यवसायमा करिब एक खर्ब लगानी भएको छ । व्यवसायीहरुमा यसले प्रतिफल दिनुको साटो डुब्ने चिन्ता छ ।
मंसिर पहिलो साता एक नेपाली र चार विदेशी वायुसेवा कम्पनी कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई, जजिराले उडान सुरु गरेपछि रुपन्देहीका पर्यटन व्यवसायी र निजी क्षेत्र उत्साहित भएर बैंकबाट ऋण लिएर व्यवसायमा थप लगानी गरे । तर उनीहरूको उत्साह एक महिना पनि टिकेन । एक महिना नबित्दै विदेशी एयरलाइन्सले ‘भिजिबिलिटी’ को समस्या र कतिपयले यात्रु अभावका कारण देखाउँदै उडान रोके ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भिजिबिलिटीको समस्या समाधान गर्न आईएलएसको विकल्पमा आरएनपीएआर प्रविधि लागू गर्यो । त्यसपछि मार्च २९ अर्थात गत चैत १६ गतेसम्म विमानस्थलमा चहलपहल बढ्यो । एअरलाइन्सले उल्लेख्य यात्रु पाउन थाले । तर अप्रिल १ देखि फेरि अन्तर्राष्ट्रिय उडान रोकिएको पछि व्यवसायीहरु फेरि निराश छन् ।
अहिले नेपाल एयरलाइन्सले मात्रै साताको तीन अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । विभिन्न बहानामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र आक्रोशित बनेको छ । सरकारले गौतम बुद्ध विमानस्थल नियमित सञ्चालनका लागि कुनै कसर बाँकी नराखेको दाबी गरेपनि परिणाम नदेखिएको भन्दै निजी क्षेत्रले विमानस्थल सञ्चालन हुन नदिने अदृष्य शक्ति को हो ? भन्ने प्रश्न गरेको छ ।
निजी क्षेत्रका लुम्विनी प्रदेश स्तरीय संघसंस्थाहरुले संयुक्त वक्तव्य जारी गर्दै ‘कुन अदृश्य शक्तिले लुम्बिनी प्रदेशको सम्मृद्धिको आधारको रुपमा स्थापना भएको गौतमबुद्ध विमानस्थल सञ्चालन हुन रोकिरहेको छ ? त्यस्ता अवरोधहरु छिचोल्न निजी क्षेत्रका तर्फबाट सरकारलाई कस्तो खालको सहयोगको आवश्यकता परेको हो ?’ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।