Connect with us
Kapilvast Forest

कपिलवस्तुमा १२५ किशोरीलाई लक्षित रुपान्तरण कक्षा सम्पन्न

२०८२, १६ बैशाख मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु —

विद्यालय शिक्षा छुटेका किशोरीहरूलाई पुनः शिक्षाको मूलधारमा फर्काउन कपिलवस्तुको शिवराज नगरपालिका–३ मा सञ्चालन गरिएको रुपान्तरण कक्षा सफलतापूर्वक सम्पन्न भएको छ ।

मिलिजुली महिला विकास तथा ऋण सहकारी संस्था, सिद्धार्थ सामाजिक विकास केन्द्र र शिवराज नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको सो कार्यक्रम सोमबार समापन गरिएको हो ।

समापन समारोहमा स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, महिला नेतृहरू तथा सहभागी किशोरीहरूको उल्लेखनीय उपस्थिति थियो ।

४२ हप्तासम्म सञ्चालन गरिएको रुपान्तरण कक्षामा कुल १२५ जना किशोरीले सहभागीता जनाएका थिए । शिवराज–३ अन्तर्गत कटुवा गाउँ, नयाँ बस्ती, खरेन्द्रपुर र मदवाका गरी ५ स्थानमा कक्षा सञ्चालन गरिएको थियो ।

वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटाले कक्षाको समापन कार्यक्रममा भन्नुभयो, “बालबालिकाले शिक्षा पाए गाउँ समाज आफैँ बदलिन्छ । शिक्षाबाट मात्रै सशक्तिकरण र समृद्धि सम्भव छ । किशोरीहरूलाई शिक्षामा जोड्ने यो प्रयास अत्यन्त सकारात्मक छ ।”

मिलिजुली महिला विकास तथा ऋण सहकारी संस्थाकी अध्यक्ष दीपा अधिकारीका अनुसार विद्यालय शिक्षा छुटाएका किशोरीहरूका लागि रुपान्तरण कक्षाले नयाँ जीवनको ढोका खोलेको छ ।

उहाँले भन्नुभयो, “विद्यालयसम्म नपुगेका किशोरीहरूलाई शैक्षिक आधार तयार गरिदिनु यो कक्षाको मूल उपलब्धि हो । उनीहरूमा पढाइ र भविष्यप्रति सकारात्मक सोच पैदा भएको छ ।”

रुपान्तरण कक्षामा सहभागी भएका किशोरीहरूले कक्षा निरन्तर सञ्चालन गरिदिन माग गरेका छन । उनीहरूले आगामी दिनमा औपचारिक शिक्षामा फर्कने प्रतिबद्धता समेत जनाएका छन ।

समापन कार्यक्रममा किशोरीहरूले आफैंले तयार पारेका कविता र सन्देश प्रस्तुत गर्दै कक्षाबाट पाएको ज्ञान र प्रेरणा व्यक्त गरेका थिए ।

कार्यक्रममा मिलिजुली सहकारीका पदाधिकारी, नगरपालिकाका प्रतिनिधि, स्थानीय शिक्षक, अभिभावक तथा महिला नेतृत्वको सक्रिय सहभागिता देखिएको थियो ।

रुपान्तरण कक्षाको सफलताले शिवराज नगरपालिकामा किशोरी शिक्षामा नयाँ आशा जगाएको छ । आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ सशक्त रूपमा विस्तार गर्ने योजना रहेको सहकारी संस्थाले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj