विद्युतका कर्मचारीद्वारा नागरिकलाई सास्ती
कपिलवस्तु– नेपाल विद्यतु प्राधिकरण वितरण केन्द्र कृष्णनगर कपिलवस्तुका कर्मचारीद्धारा नागरिकलाई सास्ती भएको छ ।
विद्युतका कर्मचारीले अनावश्यक रुपमा जारीवान लगायतका क्रियाकलाप गर्दा नागरिकलाई सास्ती भएको हो । नागरिकलाई दुखदिई रकम असुल्ने गरेको स्थानियले आरोप लगाएका छन ।
नेपाल विद्युत प्राधिकरण कृष्णनगर अन्तर्गत कार्यरत फ्युज सेवा शाखा महाराजगन्जका कर्मचारीले उपभोक्ताको माथि पूर्वाग्रही भावनाले विद्युत सामग्री लैजाने, जरिवाना भन्दै रकम असुली गरेको स्थानियले आरोप लगाएका छन ।
महाराजगंज नगरपालिका वडा नं ४ बस्ने इन्द्रराम यादवको गत चैत २५ गते साझँ करिब ८ बजे आफ्नै घरमा कोही नभएको मौकामा विद्युतका कर्मचारी बलराम उपाध्याय कार्यालयको सरकारी गाडी लिएर आएर घर बाहिरको नलमा जडान गरिएको मोटर निकालेर लगेको गम्भीर आरोप रहेको छ ।
इन्द्रराम यादवका अनुसार, आफू घर फर्किएपछि विद्युत कार्यालयका इन्चार्ज महेन्द्र सहानीलाई सोध्दा “विद्युत चोरी भएकोले जरिवाना तिरेर मोटर फिर्ता लैजानुपर्ने” जवाफ आएको थियो। तर यादवले आफू निर्दोष भएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय तौलिहवामा मौखिक उजुरी दिएका थिए ।
यसपछि कृष्णनगर विद्युत प्राधिकरणका प्रमुख सुशील पौडेललाई भेटेर प्रमाणसहित छानबिन गर्न अनुरोध गर्दा पनि कुनै ठोस कारबाही नभएको यादवले गुनासो गरे ।
घटना भएको एक महिना बितिसकेको अवस्थामा प्रहरी कार्यालयमा छलफल हुँदा विद्युत चोरी गरिएको पुष्टि नभए पछि मात्रै रातको समयमा उक्त मोटर विद्युतका कर्मचारीले नै फिर्ता ल्याएर राखिएको यादवले बताएका छन् ।
उनले थप भने, “हामी जस्तालाई त यस्तो हैरानी गर्छन् भने सर्वसाधारणलाई त झन कस्ता सास्ती दिँदै होलान्।” पीडितले कर्मचारी उपाध्याय र सहानीमाथि डर देखाएर रकम असुली गर्ने क्रम चलाएको गुनासो गरेका छन् ।
विद्युत प्राधिकरण कृष्णनगरका प्रमुख इन्चार्ज सुशील पौडेलले भने, “साना घटनामा सबैलाई कारबाही गर्न सकिन्न, तर इन्द्रराम यादवले विद्युत चोरी गर्नु भएको थियो ।” यस्तो बयानले अझै विवाद र आशंका बढाएको छ ।