नेपाल निजामती कर्मचारी सङ्गठन लुम्बिनीको कार्यालय देउखुरीमा स्थापना
न्युजसेन्टर नेपाल–
दाङ, देउखुरी- नेपाल निजामती कर्मचारी सङ्गठन लुम्बिनी प्रदेश समितिको कार्यालय प्रदेश राजधानी देउखुरीमा स्थापना गरिएको छ ।
एक विशेष समारोहका बीच उक्त कार्यालयको उद्घाटन नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रिय आयोग सदस्य खगराज उपाध्यायको प्रमुख आतिथ्यतामा गरिएको हो ।
कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष नेत्र प्रसाद आचार्यले गरेका थिए भने केन्द्रिय प्रतिनिधि प्रेम गौतम र सल्लाहकार शेर बहादुर केसी विशेष अतिथिका रूपमा सहभागी थिए । समारोहमा विभिन्न जिल्लाबाट आएका निजामती कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खगराज उपाध्यायले भने, “निजामती कर्मचारी प्रशासनको मेरुदण्ड हुन् । तिनको अधिकारको संरक्षण र पेशागत मर्यादाको सुनिश्चितताका लागि संगठनले नेतृत्वदायी भूमिका खेलिरहेको छ । प्रदेशस्तरमा कार्यालय स्थापना हुनु संगठन सुदृढीकरणतर्फको महत्त्वपूर्ण पाइला हो । यसले कर्मचारीको आवाजलाई संस्थागत रुपमा अगाडि बढाउन थप बल पुग्नेछ ।”

कार्यक्रमका अध्यक्ष नेत्र प्रसाद आचार्यले प्रदेश कार्यालय स्थापना सँगै कर्मचारी हक–हितका विषयमा थप प्रभावकारी पहल गर्न सकिने बताए ।
“हामी नीति निर्माण तहसम्म आवाज पुर्याउन सक्रिय छौं । नियमावली संशोधन, पदोन्नति, सरुवा र समावेशी प्रतिनिधित्वजस्ता विषयमा संगठनले निरन्तर काम गरिरहेको छ,” उनले भने ।
विशेष अतिथि प्रेम गौतमले संगठनको सशक्त संरचनाले कर्मचारीको समस्यालाई समाधान गर्न सहज हुने उल्लेख गरे ।
“केन्द्रदेखि प्रदेशसम्मको सहकार्य आवश्यक छ । संगठनले सधैं सकारात्मक संवादमा विश्वास राख्छ,” उनले भने ।
सल्लाहकार शेर बहादुर केसीले कार्यालय स्थापनासँगै संगठन अझ एकतावद्ध हुने विश्वास व्यक्त गरे ।
“मनोबल उच्च राख्न संगठनको भूमिका महत्त्वपूर्ण हुन्छ । हामी नीतिगत पैरवीसँगै सहमति र समन्वयमा विश्वास गर्छौं,” उनले भने ।
यस अवसरमा प्रदेश निजामती सेवा नियमावलीको संशोधनसम्बन्धी मागबारे मुख्यमन्त्रीसहित प्रदेश सरकारका विभिन्न मन्त्रालय र सचिवालयसँग संगठनको प्रतिनिधिमण्डलले ध्यानाकर्षण गराएको थियो ।