‘आगामी पाँच वर्षसम्म पनि रेकर्डतोड गर्मी’
काठमाडौं –
विश्व मौसम संगठन डब्ल्यूएमओले आगामी पाँच वर्षमा विश्वको औसत तापक्रम १।९ डिग्री सेल्सियसम्म बढ्ने अनुमान गरेको छ । यो अनुमान ५० वर्षको औसत सन् १८५० देखि १९०० को अवधिको औसत तापक्रमको तुलनामा गरिएको हो ।बुधबार सार्वजनिक विश्व मौसम संगठनको रिपोर्टमा सन् २०२५ देखि सन् २०२९ सम्मको अवधिमा हालसम्मको सबैभन्दा तातो वर्ष २०२४ लाई पनि पार गर्ने सम्भावना ८० प्रतिशत रहेको सम्भावना औंल्याइएको छ ।
यसैगरी कम्तीमा एक वर्षमा औसत तापमान पूर्वऔद्योगिक स्तरभन्दा १।५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ८६ प्रतिशत छ ।पाँच वर्षको औसत तापमान १।५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ७० प्रतिशत छ । यो गत वर्षको रिपोर्ट ९२०२४–२०२८० को तुलनामा २६ प्रतिशतले बढी हो । सन् २०२४–२०२८ मा यस्तो सम्भावना ४७ प्रतिशत मात्र थियो । यसैगरी सन् २०२३ को रिपोर्ट ९ सन् २०२३–२०२७०मा ३२ प्रतिशत मात्र थियो ।
यसबाट हरेक वर्ष विश्वको औसत तापक्रम बढ्दै गएको देखिन्छ । तापमानमा प्रत्येक वर्ष थोरै–थोरै वृद्धि हुनु पनि हानिकारक हुने वैज्ञानिकहरु बताउँछन् । यसले तातो लहर, अत्यधिक वर्षा, गम्भीर खडेरी, हिमगलन, समुद्री सतह वृद्धि जस्ता घटनाहरुलाई अझै बढाउँछ ।आर्कटिक क्षेत्रको तापमान वृद्धि विश्वको औसतभन्दा ३।५ गुणा बढी हुने अनुमान छ, जसले समुद्र्री बरफ पग्लन र समुद्री सतह बढाउन भूमिका खेल्ने छ ।
डब्ल्यूएमओले भनेको छ, ‘आर्कटिकमा आगामी पाँच वर्षको अवधिमा गर्मीका कयौं रेकर्ड तोडिन सक्छन् । आगामी पाँच वर्षमा आर्कटिक क्षेत्रको तापमान विश्वको औसत तापक्रमभन्दा ३।५ गुणा अधिक हुने सम्भावना छ । यो सन् १९९१–२०२०को औसतभन्दा २।४ डिग्री सेल्सियसले बढी हो ।यसका साथै समुद्री बरफको स्तर मार्च २०२५ देखि २०२९ सम्म अझै घट्ने सम्भावना पनि छ । यस्तो खासगरी बारेन्ट्स सागर, बेरिङ सागर र ओखोत्स्क सागरमा हुने सम्भावना छ ।
यस्ता मौसमी घटनाले अमेजन क्षेत्रमा थप खडेरी हुने र दक्षिण एशिया तथा उत्तरी युरोपमा वर्षा वृद्धि हुन सक्ने सम्भावना रहेको डब्ल्यूएमओले जनाएको छ । रिपोर्टका अनुसार २०२५–२०२९ को अवधिमा मेदेखि सेप्टेम्बर महिनामा औसतभन्दा बढी वर्षा हुनो सम्भावना छ । साहेल, उत्तरी युरोप, अलास्का र उत्तर साइबेरियामा औसतभन्दा बढी वर्षाको सम्भावना औंल्याइएको हो ।तर अमेजन क्षेत्रमा औसतभन्दा कम वर्षा हुने सम्भावना छ ।
नेपालमा कस्तो प्रभाव ?
दक्षिण एसियाली देशमा सन् २०२३ यताका वर्षहरुमा औसतभन्दा अधिक वर्षा हुँदै आएको छ । यस्तो सम्भावना सन् २०२५–२०२९ को अवधिको बीचमा पनि रहेको डब्ल्यूएमओले जनाएको छ । यद्यपि सबै मौसम प्याट्रन समान भने छैनन् ।डब्ल्यूएमओको ताजा रिपोर्टमा नेपाललाई विशेष रूपमा उल्लेख गरिएको छैन । तर दक्षिण एशियाका लागि गरिएका पूर्वानुमानहरू नेपालका लागि पनि सान्दर्भिक छन् ।
नेपाल जस्ता हिमाली देशहरूमा तापमान वृद्धिले हिमनदीहरू पग्लिने र बाढी–पहिरोको जोखिम बढाउनेछ । साथै, कृषि उत्पादनमा असर, जल स्रोतहरूको अस्थिरता र जैविक विविधतामा नकारात्मक प्रभाव पर्ने सम्भावना छ ।इसिमोडको एक रिपोर्ट अनुसार, यदि विश्व तापक्रम बढिरह्यो भने नेपाल र भुटानले हिमालय क्षेत्रमा जमेको बरफ ७५ देखि ८० प्रतिशतसम्म गुमाउने खतरा छ । यसले नेपालका नदीहरूमा पानीको प्रवाह, जलविद्युत् उत्पादन र सिँचाइ प्रणालीमा दीर्घकालीन असर पार्न सक्छ ।
साथै अत्यधिक वर्षा र उच्च तापक्रमले कृषि उत्पादनमा नकारात्मक असर पुर्याएर खाद्य सुरक्षामा चुनौती सिर्जना गर्न सक्छ ।त्यसैले जलवायु परिवर्तनको असरलाई ध्यानमा राख्दै दीर्घकालीन योजना, पूर्वतयारी र अनुकूलन रणनीतिहरू आवश्यक पर्ने डब्ल्यूएमको जोड छ ।
विश्वभर बढीरहेको गर्मीको असर सबैलाई समान रुपमा भने परेको छैन । शीतलमा बस्ने सुविधाबाट बन्चित गरिब, मजदुर, विस्थापित तथा गर्भवती, बालबालिका, वृद्धवृद्धा, विकलाङ्ग व्यक्तिहरु बढी प्रभावित छन् । त्यसैले श्रम गरेर परिवार पाल्नेहरुको सुरक्षामा बढी जोड दिनुपर्ने वैज्ञानिकहरुको सुझाव छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको एक रिपोर्ट अनुसार विश्वभर शारीरिक श्रम गर्न सक्ने करिब ७० प्रतिशत व्यक्ति अत्यधिक गर्मीको चपेटामा परेका छन् ।अफ्रिका र अरब क्षेत्रमा स्थिति अझै संकटपूर्ण छ । त्यहाँ क्रमशः ९० र ८० प्रतिशत जनसंख्याले अत्यधिक गर्मीको सामना गरिरहेका छन् । एसिया र प्रशान्त क्षेत्रमा यो संख्या करिब ७५ प्रतिशत छ । यही क्षेत्रमा विश्वकै सबैभन्दा धेरै जनघनत्व छ ।बढ्दो गर्मीबाट विश्व अर्थतन्त्रमा सन् २०३० सम्म २।४ ट्रिलियन डलर नोक्सान हुने अनुमान छ ।
सन् २०२५ एक निर्णायक वर्ष
सन् २०२५ विश्वको जलवायु कार्यका लागि एक महत्वपूर्ण वर्ष मानिएको छ । किनभने सन् २०२५ मा जलवायु अनुकूलन योजनामा व्यापक सुधारको आवश्यकता छ । ताकि पेरिस सम्झौताको लक्ष्य प्राप्त गर्न सकिओस् ।पेरिस सम्झौतामा देशहरुले विश्वको औसत तापक्रमलाई औद्योगिक कालभन्दा पहिलेको स्तरबाट दुई डिग्री सेल्सियसबाट तलै राख्न कोसिस गर्ने उल्लेख छ ।
डब्ल्यूएमओले अझै पनि जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सकिने जनाएको छ । त्यसका लागि जीवाश्म इन्धनको प्रयोगमा कटौती, नवीकरणीय ऊर्जा प्रवद्र्धन र जलवायु अनुकूलन कार्यक्रममा लगानीमा जोड दिनुपर्ने छ ।