Connect with us
Kapilvast Forest

एसईई दिने विद्यार्थीको उमेर १२ वर्ष!

२०८२, १८ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं –

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन तोकिएको उमेरको सीमासम्बन्धमा चार वर्षअघि हटाइएको प्रावधान फेरि लागु भएपछि विद्यार्थी तनावमा परेका छन्। शिक्षा नियमावलीको दफा ७८ को उपदफा ६ मा १४ वर्ष पूरा नभएका विद्यार्थीलाई एसईईमा समावेश नगरिने उल्लेख छ । तर माध्यमिक शिक्षा कक्षा १२ सम्म भएको भन्दै २०७८ सालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईमा सहभागी हुने उमेरको सीमा हटाएको थियो । त्यतिवेला कक्षा १२ को परीक्षामा सहभागी हुनाका लागि मात्रै १४ वर्ष पूरा भएको भए पुग्ने तर एसईईमा जति वर्षका विद्यार्थी पनि सहभागी हुन पाउने व्यवस्था गरिएको थियो।

यद्यपि शिक्षा नियमावलीमा भएको व्यवस्थालाई मन्त्रीस्तरीय निर्णयबाट हटाउन निर्देशन दिएको भन्दै त्यतिबेला पनि चर्चा भएको थियो । तर अहिले मन्त्रालयले फेरि शिक्षा नियमावली अनुसार १४ वर्षे प्रावधान एसइईमै लागु गर्न भन्दै बोर्डलाई निर्देशन दिएको छ । व्यवस्था कार्यान्वयन भएको अवस्थामा अब (२०८२ सालमा) सञ्चालन हुने एसइईमा सहभागी हुने विद्यार्थीको उमेर २०८२ चैत मसान्तसम्ममा १४ वर्ष पूरा हुनैपर्छ। अर्थात् २०६८ साल चैत मसान्तभित्र जन्मेका विद्यार्थी मात्रै अबको एसइईमा सहभागी हुन पाउने छन्।

बोर्डले अहिले कक्षा १० को रजिस्ट्रेसन फाराम भराइरहेको छ । फाराम भर्ने समय जेठ मसान्तसम्म तोकिएको छ। तर फाराम भर्नेक्रममा थुप्रै विद्यार्थीले यो उमेर पार नगरेको देखिएको छ। उमेरको समस्या देखाउँदै हिजोआज बोर्डमा विद्यालय, विद्यार्थी तथा अभिभावकबाट दैनिक गुनासो आउने गरेको छ। बोर्डका अनुसार रजिस्ट्रेसन फाराम भरेका केही विद्यार्थीको उमेर १४ वर्ष पूरा हुन तोकिएको मितिभन्दा दुईचार दिन मात्रै कम देखिएको छ। केही विद्यार्थीको उमेर भने एसइईमा सहभागी हुने समयमा १२ वर्ष मात्रै पूरा हुने देखिएको पनि बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) डा. गणेश भट्टराईले बताए।

‘दुईचार दिन उमेर नमिल्नु स्वाभाविक हो। तर, विद्यार्थी १० कक्षामा पुग्दासमेत उमेर १२ वर्ष मात्रै देखिएको छ। यो अवस्थालाई कसरी स्वाभाविक मान्ने?’, भट्टराईले भने, ‘पक्कै पनि अभिभावकले बच्चाको जन्ममिति बिगारेर भर्ना हुने समयमा घटाएको हुनु पर्छ। वा कक्षा जम्प गराएर पढाएको हुनु पर्छ। यो अवस्थालाई कानुनले मान्दैन।’

तर २०७८ सालमा शिक्षा मन्त्रालयले एसईईमा सहभागी हुन १४ वर्ष उमेर पूरा भएकै हुनुपर्ने प्रावधान हटाएपछि कतिपय अभिभावक आफैँले विद्यार्थीको जन्ममिति सच्याएर वा कक्षा जम्प गराएर कलिलै उमेरमा माथिल्लो कक्षामा पठाउने गरेका थिए। अहिले फेरि मन्त्रालयले पुरानै व्यवस्था कार्यान्वयन गर्न बोर्डलाई निर्देशन दिएपछि समस्या आएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu