Connect with us
Kapilvast Forest

भित्र्याउने वेला भएको चैते धान असिनाले झारेपछि पर्वतका कृषक चिन्तामा

२०८२, २५ जेष्ठ शनिबारमा प्रकाशित

पर्वत –

भित्र्याउने वेला भएको चैते धान असिनाले झारेपछि पर्वतका कृषक चिन्तामा परेका छन्।पर्वत सहित आसपासका क्षेत्रमा ‘मनसुन’ नआइसकेको बेलामा ‘प्रि मनसुन’ कै बेलामा अचानक भएको वर्षासँगै आएको असिनाले लगभग पाकिसकेको धान झर्दा कृषकहरू चिन्तामा परेका हुन्। भित्र्याउने बेलाको धान बिहीबार परेको असिनाले चुटेर गराभरि झारेको छ।

जिल्लाको कुश्मा नगरपालिका-४ अर्मादी सहितका क्षेत्रमा बिहीबार साँझ करिब साढे पाँच बजेको समयमा जमिन नै सेताम्मे देखिने गरी असिना सहितको वर्षा भएको थियो। सोही वर्षा र असिनाले नकाटेको धानको बालामा चुटेर धान पूरै झारेको स्थानीय कृषक सूर्य पुन मगरले बताए। घाम लागिरहेको बेलामा अचानक हुरी बताससहित भएको वर्षासँगै करिब पाँच मिनेट परेको असिनाले धानसहित मकै तथा तरकारी बालीमा पनि क्षति भएको उनको भनाइ छ।

माघदेखि मिहिनेत गरेर धान राम्रोसँग फस्टाएको भए पनि भित्राउने बेलामा एक छिनको असिनाले सखाप पार्दा कृषक समस्यामा परेको उनको भनाइ छ। करिब १५-२० मुरी चैते धान उत्पादन हुने र त्यसैले परिवार पाल्ने गरेको भए पनि यो वर्ष चामल किन्नुपर्दा आर्थिक समस्या आउनेमा मगर चिन्तित छन्। ‘कति दुःख गरेर खेती लगाइयो। माघदेखिको मिहिनेत पाँच मिनेटको असिनाले खाइदियो। भित्र्याउने बेलाको धान ध्वस्त पारेपछि हामी कृषकले के गर्ने हो?’, उनले भने, ‘यही धानले परिवार पालौँला भनेको हालत यस्तो भयो। विदेश नजाऊँ, यहीँ केही गरौँ भनेर खेती लायो असिनाले खाइदिन्छ, पहिराले पुरिदिन्छ। के पो गर्ने हो?’

यता कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी सूचना अधिकारी सोबिता सुवेदीले असिना परकोबारेमा कृषकबाट कुनै पनि जानकारी नआएको बताइन्। तर ‘प्रि मनसुन’ को बेलामा अचानक शुरु हुने स्थानीय मौसमको प्रभावले नसोचेको वेलामा वर्षा, असिना, हावाहुरीको प्रभाव रहँदा कृषकहरू प्रभावित हुने गरेको उनको भनाइ छ। असिनाबाट क्षति भोगेका  कृषकहरूले क्षति भएको देखिने गरी प्रमाणहरू सहित मुचुल्का बुझाएमा क्षतिपूर्तिका लागि कार्यालयले प्रक्रिया अगाडि बढाउने सुवेदीले बताइन्।

पर्वतमा विशेषतः बिहादी गाउँपालिका र पैयुँ गाउँपालिकामा चैते धान रोप्ने गरिएको छ। जिल्लाका अन्य स्थानमा भने प्रायः बर्खे धान लगाउने गरिएको छ। कुश्मा नगरपालिका-४ को अर्मादी र आसपासको क्षेत्रका कृषकहरूले भने चैते धान पनि लगाउने गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu