कपिलवस्तुको नौडिहवा गाउँमा चोरी
न्युज सेन्टर नेपाल ,कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ अन्तर्गत नौडिहवा गाउँमा गए राति तीन घरमा चोरी भएको छ । प्रहरीका अनुसार राति करिब १२ बजेतिर छविलाल बन्जाडे, कोपिला मिदुन र लीलबहादुर राउतको घरमा चोरले धावा बोलेका हुन् ।
पीडित छविलाल बन्जाडेले ३.५ तोला सुन र नगद ४९ हजार रुपैयाँ चोरी भएको बताएका छन् । त्यस्तै कोपिला मिदुनको १.५ तोला सुन र नगद ३ हजार रुपैयाँ हराएको छ । लीलबहादुर राउतको घरबाट भने १ तोला सुनको गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।
चोरले उक्त गरगहना नजिकैको एक घरको बरण्डामा राखेर सुन मात्र लिएर अन्य सामग्री त्यही फालेको देखिएको छ ।घटनापछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट टोली पुगेर अनुसन्धान थालेको छ । चोरीमा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।