Connect with us
Kapilvast Forest

हल गोरु पाल्ने किसानलाई पालिकाले १० हजार दिने

२०८२, ६ असार शुक्रबारमा प्रकाशित

स्याङ्जा –
स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान दिएको छ ।
परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले हल गोरु पाल्ने किसानलाई अनुदान दिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
पछिल्लो समय गाउँगाउँमा गोरु पाल्न छाड्ने क्रम बढ्दै गएपछि हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप प्रतिहल रु १० हजार अनुदान दिइएको हो ।फेदीखोला गाउँपालिकाका पाँचवटै वडाबाट हल गोरुको तथ्याङ्क सङ्कलन गरी प्रोत्साहन अनुदान प्रदान गरेको हो । हल गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत २२४ जना किसानहरु समेटिएका छन् ।
कुल २९० हल गोरुका लागि रु १४ लाख ४५ हजार अनुदान वितरण गरिएको उनले बताए । यो कार्यक्रममार्फत आर्थिक, सामाजिक, पर्यावरणीय र सांस्कृतिक महत्वलाई जोगाइ राख्नका लागि टेवा पुग्ने गाउँपालिकाको अपेक्षा छ ।‘हल गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानले विशेषगरी आर्थिक, सामाजिक, पर्यावरणीय, सांस्कृतिक रुपमा समेत प्रभाव पार्ने देखिन्छ,’ उनले भने, ‘किसानको मनोबल बढाउँदै दिगो, आत्मनिर्भर र सांस्कृतिक रुपमा समृद्ध कृषि प्रणालीतर्फ सकारात्मक सङ्केत दिएको छ ।’
किसानको उत्पादन लागत घटेर आम्दानी बढ्ने, सामूहिक श्रम र पराम्परागत कृषि अभ्यासको पुनर्जीवनमा टेवा पुग्ने विश्वास उनको छ ।
यान्त्रिक प्रविधिहरुको प्रयोगबाट हुने जोताइको सट्टामा वातावरणमैत्री विधिको प्रोत्साहनमा जोड दिएको हो । ‘पछिल्लो समय गोरु पाल्ने चलन हराउँदै गएको छ, हाम्रो परम्परा मेटिँदै गएको छ,’ उनले भने, ‘एकातिर हाम्रो परम्पराको संरक्षण हुने र अर्कोतर्फ जैविक मल घरमै उत्पादन गर्न सकिने भएकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराएका हौँ ।’
यो कार्यक्रममा गाउँपालिकाको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत लागत साझेदारी रहेको फेदीखोला गाउँपालिका पशुपक्षी विकास उपशाखाका प्रमुख भगवानदेव यादवले बताए ।गाउँपालिकाले हल गोरु पालेका किसानहरुलाई प्रोत्साहन अनुदान दिनेसम्बन्धी सूचना सार्वजनिक गरेपछि वडावडाबाट निवेदन सङ्कलन भएको थियो ।
सङ्कलन भएका निवेदनहरुउपर जनप्रतिनिधि तथा कर्मचारीहरु घरघरमै पुगेर अुनगमनपश्चात् प्रमाणित भएपछि सम्बन्धित किसानको बैङ्क खातामा रकम जम्मा गरिदिने भएको उनले बताए । ‘एउटै किसानले पालेको एक हल गोरु अथवा दुईजना किसानको मिलाएर एक हल गोरु बनाइएको रहेछ भने पनि पालिकाले प्रोत्साहनस्वरुप ७५ प्रतिशत अनुदान दिन्छ,’ उनले भने, ‘गोरु पाल्ने किसानहरुको सबै तथ्याङ्क सङ्कलन गरी प्रक्रिया पूरा भइसकेको छ ।’
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu