गुल्मीमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका ३ जना बिरामी
गुल्मी-
गुल्मीको मुसिकोट नगरपालिका–४ दिगामचौरमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका तीनजना बिरामी भएका छन् । बिरामी हुनेमा ६८ वर्षीया फुलमाया कुमाल, ७६ वर्षीय थम्मन बहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेको प्रहरीले जनाएको छ ।च्याउको तरकारी खाएपछि उनीहरूलाई बान्ता हुने र पेट दुख्ने समस्या देखिएको थियो ।
उनीहरुलाई उपचारका लागि पाल्पाको लुम्बिनी मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताए । चिकित्सकको भनाइ उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार उनीहरुको अवस्था मध्यम छ ।गुल्मी प्रहरीले जंगलमा पाइने कतिपय च्याउ विषालु हुने भएकाले विशेष ध्यान पुर्याउन अनुरोध गरेको छ ।