Connect with us
Kapilvast Forest

मध्य असारसम्म देशभर २० प्रतिशत मात्रै रोपाइँ

२०८२, १६ असार सोमबारमा प्रकाशित

काठमाडौं-

१५ असारसम्म देशभर २०.३ प्रतिशत रोपाइँ भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ४९.२ प्रतिशत रोपाइँ सकिएको छ । सुदूरपश्चिममा जेठ दोस्रो साताबाटै रोपाइँ हुने भएकाले हालसम्म करिब आधा रोपाइँ सकिएको हो ।

त्यस्तै, कर्णालीमा ३९.१ प्रतिशत, गण्डकीमा २८.२ प्रतिशत, लुम्बिनीमा २४.३ प्रतिशत, बागमतीमा २०.५ प्रतिशत, कोशीमा १४.३ प्रतिशत र मधेशमा सबैभन्दा कम ३.९ प्रतिशत रोपाइँ सकिएको छ । मधेशमा ढिला गरी मनसुन सुरु भएकाले रोपाइँ भर्खर सुरु भएको मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै धान उत्पादन हुने मधेशमा ढिला गरी रोपाइँ हुँदा समग्र उत्पादन घट्ने चिन्ता बढेको छ । मधेशमा यो वर्ष सबैभन्दा बढी तीन लाख ८० हजार दुई सय ८३ हेक्टरमा रोपाइँ हुने अनुमान छ ।

त्यसैगरी, लुम्बिनीमा तीन लाख दुई हजार हजार आठ सय ८९ हेक्टर, कोशीमा दुई लाख ७६ हजार तीन सय ८७ हेक्टर, सुदूरपश्चिममा एक लाख ७६ हजार एक सय ५१ हेक्टर, बागमतीमा एक लाख २० हजार पाँच सय ४५ हेक्टर, गण्डकीमा ९४ हजार एक सय ८२ हेक्टर र कर्णालीमा सबैभन्दा कम ४० हजार आठ सय ८४ हेक्टरमा रोपाइँ हुने प्रारम्भिक अनुमान छ । यो वर्ष कुल १३ लाख ९१ हजार ती सय २१ हेक्टरमा रोपाइँ हुने मन्त्रालयको अनुमान छ ।

यो वर्ष पोहोरको भन्दा ४३ हजार हेक्टर कम क्षेत्रफलमा रोपाइँ हुन लागेको हो । गत वर्ष १४ लाख ३४ हजार हेक्टरमा रोपाइँ भएको थियो । गत वर्षको तुलनामा १५ सम्मको रोपाइँ पनि कम भएको छ । गत वर्ष यही अवधिमा २१.३ प्रतिशत रोपाइँ सकिएको थियो । कृषि मन्त्रालयले १५ असारमा राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव गर्दै आएको छ । ललितपुरको खुमलटारमा कृषिमन्त्री रामनाथ अधिकारीको उपस्थितिमा मुख्य कार्यक्रम सम्पन्न गरिएको छ । सो अवसरमा मन्त्री अधिकारीले मेसिनबाट धान रोप्ने कार्य गरेका थिए भने कर्मचारी र स्थानीय महिलासँग हातले धान रोपेर हौसला पनि प्रदान गरेका थिए ।

मन्त्री अधिकारीले हिलोमा टेकेर मात्रै उत्पादन बढाउन सकिने भन्दै कषि क्षेत्रको विकासमा धानको योगदान सबैभन्दा बढी रहेको बताए । उनले दुई वर्षभित्र धानमा आत्मनिर्भर हुने गरी बजेट र कार्यक्रम लागू गर्नुपर्ने पनि बताए । किसानलाई अगाडि बढाउन सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धतासमेत मन्त्री अधिकारीले जनाए । ‘धानमा आत्मनिर्भर हुनका लागि राज्यले गर्नुपर्ने समस्या समाधानका लागि हामी तत्पर छौँ । मल अभावको समस्या पनि समाधान गरेर धान उत्पादन वृद्धिका लागि पहल गर्नछौँ,’ उनले भने ।

११ महिनामा ३५ अर्बको धान–चामल आयात
सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । तर, यही वर्ष धान–चामलको आयात ८१ प्रतिशतले बढेको छ भने आगामी वर्ष धानको उत्पादन अझ घट्न सक्ने देखिएको छ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत १५ जेठमा संसद्मा आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुत गर्दै आगामी दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने गरी उत्पादन वृद्धिका कार्यक्रम ल्याउने घोषणा गरेका छन् । यसका लागि तराई र भित्री मधेशका २२ जिल्लामा चैतेधानको उत्पादन वृद्धिका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले आइतबार धान दिवसको अवसरमा प्रस्तुत गरेको कार्यपत्रअनुसार वार्षिक मागको तुलनामा १० लाख ५३ हजार टन उत्पादन अपुग छ । उनका अनुसार आत्मनिर्भर हुनका लागि वार्षिक ७० लाख आठ हजार टन उत्पादन आवश्यक पर्छ, तर चालू आर्थिक वर्ष ०८१–८२ मा ५९ लाख ५५ हजार टन उत्पादन भएको छ । यो वर्ष रोपाइँ हुने क्षेत्रफल घट्दा उत्पादनमा थप असर पर्ने देखिन्छ ।

मन्त्रालयका अनुसार गत आव ०८०/८१ मा ५७ लाख २४ हजार टन उत्पादन भएको थियो । चालू आवमा अघिल्लो तुलनामा ४.०४ प्रतिशतले बढी उत्पादन भएको मन्त्रालयको दाबी छ । पुग्ने धान उत्पादन हुन नसक्दा आयातमा निर्भर हुनुपर्ने बाध्यता छ । राष्ट्र बैंकका अनुसार चालू आवको वैशाख मसान्तसम्म ३५ अर्ब १८ करोडको चामल आयात भइसकेको छ । अघिल्लो वर्ष सोही अवधिमा १९ अर्ब ३८ करोडको चामल आयात भएको थियो । गत आव ०८०/८१ मा नेपालमा २२ अर्ब नौ करोडको धान–चामल आयात भएको थियो । त्यसअघि आव २०७९/८० मा ३६ अर्ब ४० करोड र आव ०७८/७९ मा ४७ अर्ब ३५ करोडबराबरको धान–चामल आयात भएको राष्ट्र बैंकको तथ्यांक छ ।

साभार : नयाँपत्रिका

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu