Connect with us
Kapilvast Forest

कालिका नगरपालिका जाने सडक ४ वर्ष पछि कालोपत्रे

२०८२, १९ असार बिहीबारमा प्रकाशित

चितवन-

चितवनको कालिका नगरपालिका-५ घर भएका पत्रकार सन्तकुमार चौधरी दैनिक जसो खगेरीबाट भोजाड हुँदै भरतपुर आउनेजाने गर्दछन् । विगत ४ वर्षदेखि बर्खामा हिलो र हिउँदमा धुलो खाएर हिडेका चौधरी जस्ता सयौं मानिसहरुलाई यो सडक कालोपत्रे भएसँगै सुविस्ता निकै भएको छ ।कालिका नगरपालिका र भरतपुर महानगरपालिकालाई जोड्ने भोजाड–खगेरी सडकको जंगलको भाग कालोपत्रे भएको छ । जिल्लाको सदरमुकाम भरतपुर, मुख्य बजार नारायणगढ, ठूला कलेज तथा अस्पतालहरुसमेत भरतपुरमै भएको कारणले सयौं मानिसहरू दैनिक जसो जंगलको यही सडक भएर भरतपुर आउने र भरतपुरबाट कालिका जाने गर्दछन् ।

करिब डेढ किलोमिटर बिग्रिएको सडकमा बर्खामा हिलो र हिउँदमा धूलो खाँदै कालिका र भरतपुर आउजाउ गर्नेहरुले निकै दु:ख पाए । कालिका नगरपालिकाको ११ वटा वडा, रत्ननगर नगरपालिकाको माथिल्लो भेगका केही वडा र इच्छाकामना गाउँपालिकाका बासिन्दासमेत यही सडक भएर दैनिक ओहोरदोहर गर्दछन् ।एकातिर जंगली जनावरको समेत डर, अर्कोतिर बिग्रिएको सडकले गर्दा यहाँका हिँड्ने सबैले निकै सास्ती पाएका थिए । यो सडक कालोपत्रे गर्ने मुद्दा चुनावताका खुबै उठेको थियो । सबै जसो दलले भरतपुर कालिका जोड्ने यो सडकलाई कालोपत्रे गर्ने एजेन्डामा राखेका थिए ।

दुई पालिकालाई जोड्ने यो सडक कालिका नगरपालिका प्रवेशको मुख्य सडक पनि हो । तर, यसको सडकको अधिकांश भूभाग भरतपुर महानगरपालिकामा पर्दछ । महानगरवासीभन्दा पनि कालिका नगरवासीले यो सडक बढी प्रयोग गर्छन् ।सडकको मुख्य भाग एक पालिकामा पर्ने तर उपयोग अर्को पालिकाले गर्ने भएकै कारण समयमा नै सडक कालोपत्रे नहुँदा जनताले लामो समयसम्म हैरानी पाए । तर, अहिले भने सडक कालोपत्रे गरेर सकिएको छ ।

चालु आर्थिक बर्षको भ्याटसहित एक करोड ११ लाखको लागतमा गुणा निर्माण सेवाले सडक कालोपत्रे गरेको हो । सडकको बीचको केही भाग ढलानसमेत गरिएको छ । ढलान बाहेकका भागमा कालोपत्रे गर्ने काम गरिएको छ । करिब १२०० मिटरभन्दा बढी भाग कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

सडक कालोपत्रे भएसँगै कालिका नगरवासीलाई भरतपुर आउन जान निकै सहज भएको पत्रकार चौधरीले बताए । ‘म दैनिक जसो भरतपुर आउजाउ गर्दथे, मैंले यति धूलो खाएँ, दु:ख पाएँ यसको कुनै हिसाब छैन, यो बाटो हिड्नुपर्छ धुलो खानुपर्छ भनेर टाँडीबाट घुमेर भरतपुर जानेसमेत थिए’ पत्रकार चौधरी भन्छन्, ‘ धूलोले नजिकै के छ भन्ने पनि देखिन्थेन, सास फेर्न गाह्रो हुन्थ्यो, अहिले सडक कालोपत्रे भएपछि विभिन्न कामले भरतपुर जान सबैलाई सहज भएको छ ।’

कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले नगरपालिका आउने मूल सडकको हालत विगत ४ बर्षदेखि नाजुक बन्दा जनताबाट धेरै गाली पाएको बताए । ‘हामीलाई समस्या के भयो भने, बाटो भरतपुर महानगरमा पर्ने तर बढि कालिकावासीले प्रयोग गर्ने हुँदा कम प्राथमिकतामा पर्‍यो की भन्ने लाग्यो’, नगर प्रमुख रेग्मीले भने, ‘तर मैंले पटक पटक सडक डिभिजन कार्यालयमा जाने, लविङ गर्ने, तताउने काम गरे, भागिसकेको ठेकेदारलाई ल्याएर काम लगाइयो, बल्ल सडक कालोपत्रे भयो, अब जनताको गाली खानुपदैन जस्तो लागेको छ ।’

नगरप्रमुख रेग्मीले कालिका नगरपालिकाको क्षेत्रमा पर्ने खगेरी खोलाभन्दा पूर्वको सडक सबै कालोपत्रे गरिसके पनि भरतपुर तर्फको क्षेत्रमा मात्रै ढिलाइ भएको बताए । ‘आफ्नो पालिकाको क्षेत्रभित्र काम गर्न सहज हुन्छ तर अरु पालिकाको क्षेत्रमा गएर काम गर्न गराउन समस्या हुने रहेछ’, नगर प्रमुख रेग्मीले भने, ‘त्यही पनि बर्खाको बेला कालिका नगरपालिकाका डोजर एक्साभेटर लगेर काम पनि गराएँ, म नगर प्रमुख भएदेखि नै सडक कालोपत्रे गर्ने कामलाई प्राथमिकतामा राखेको थिएँ ।’

नगर प्रमुख रेग्मीले यो सडक भएर दैनिक ४/५ हजार मान्छे हिँड्ने बताए। भरतपुर र पूर्वी चितवन जोड्ने वैकल्पिक सडकका रुपमा पनि यसलाई लिने गरिन्छ ।सडक कालोपत्रे भएसँगै कालिका नगरपालिका कृषि, मौरीपालन, व्यवसायिक पशुपालनमा अग्रणी रहेकोले यहाँका कृषि उपजहरुको बजार नारायणगढ लैजान पनि अब सहज भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu