Connect with us
Kapilvast Forest

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अन्तिम तयारी

२०८२, २५ असार बुधबारमा प्रकाशित

बुटवल-

गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अन्तिम तयारी भएको छ । युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विकस्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।नेपाल सरकारले भने २०७८/७९ को नीति तथा कार्यक्रममार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषय उल्लेख गरेको थियो ।

विश्व सम्पदा समितिको ४५औं बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रबर्द्धनात्मक कार्यक्रम समेत गरिएको थियो ।अन्तिम मनोनयन दस्तावेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पेस भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विधिवत रूपमा प्रक्रिया अघि बढेको हो ।

यसको लागि लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ ) फ्रान्स पुगेका छन् ।डा. लामा प्राचीन कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकको पूर्वतयारीको लागि गत शुक्रबार नै फ्रान्स पुगेका हुन् ।त्यस्तै बैठकमा सहभागी हुन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राई लगायत कार्यक्रममा सहभागी हुन सोमबार (२३ असारमा) फ्रान्स प्रस्थान गरेका छन् ।

बैठकको पूर्वतयारीको लागि उपाध्यक्ष लामाले एक हप्तादेखि फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराई, फ्रान्सको लागि भारतीय राजदूत विशाल शर्मा, युनेस्कोको वर्ल्ड हेरिटेज साउथ एसियाका प्रमुख हिमालचुली गुरुङ, आइकोमोसका अध्यक्ष टेरेसा प्याट्रिसियो तथा निर्देशक ग्वेनाले बोर्डिनसहित विभिन्न देशका कूटनीतिक  नियोगका प्रमुख तथा विभिन्न संस्थाका प्रमुखहरूसँग आवश्यक सहकार्यको लागि भेटवार्ता तथा छलफल गरेको लामाका स्वकीय सचिव श्याम रोक्काले जानकारी दिए ।

२०१४ सालदेखि तिलौराकोटको उत्खनन् तथा अन्वेषण भइरहेको छ । तिलौराकोट दरबार बुद्धकालीन समयभन्दा ३०० वर्षअघि नै व्यवस्थित शहर रहेको तथ्य भेटिएको उत्खनन्‌मा सहभागी पुरातत्वविद् बताउँछन् । बुद्धको जन्म २५ सय वर्षअघि भएको इतिहासमा छ । तर त्यसअघि नै तिलौराकोटमा मानव सभ्यता र शहर रहेको पुष्टि भएको पुरातत्वविद्को भनाइ छ ।

यसअघि कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई औपचारिक रूपमा मनोनयन पेस भइसकेको लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईले बताए ।‘तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न विकास कोषले केही वर्षयता निकै मिहिनेत गरेका थियौं, अब दर्ता गराउने अन्तिम विन्दुमा आइपुगेका छौं,’ राईले भने ।

विश्वको सबैभन्दा ठूलो खुला संग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विकास कोषले केही वर्षदेखि काम गर्दै आएको थियो । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकतानुसार नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्त रूपमा स्थानीयस्तरको छलफल गरेसँगै उक्त कामको थालनी भएको थियो ।तिलौरोकोटको मुख्य क्षेत्र (कोरजोन) करिब १४० बिघा क्षेत्रफल छिट्टै विश्व सम्पदा सूचीमा सूचीकृत हुने लुम्बिनी विकास कोषले जनाएको छ ।

तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेपश्चात् कुदान, गोटिहवा, निग्लिहवा, अरौराकोट, सगरहवा र सिसनियालाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गरी प्राचीन शाक्यहरूको राजधानी कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा राख्ने योजना पुरातत्व विभागले बनाएको छ ।कोषका वरिष्ठ प्रशासकीय अधिकृत राईले नेपाल सरकारको चालु वर्षको बजेटको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार लुम्बिनी विकास कोषले प्रक्रिया अगाडि बढाएको बताए ।

विश्वमा अहिलेसम्म एक हजार १२१ सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छन् । नेपालले सन् १९७२ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को विश्व सम्पदा महासन्धिमा हस्ताक्षर गरेको थियो । त्यसयता काठमाडौँ उपत्यका र लुम्बिनी गरेर जम्मा दुई स्थानमात्रै विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

सन् १९९७ मा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनोस्कोमा पहलको सुरुवात गरिएको तर २४ वर्षपछि ठोस रूपमा कदम चालिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाले बताए ।पाँचौँ शताब्दीमा प्रसिद्ध चिनियाँ यात्री फासियान र सातौँ शताब्दीमा हुवेन साङले तिलौराकोटको भ्रमण गरेका थिए भने सन् १८९९ मा पुरातत्वविद् पूर्णचन्द्र मुखर्जीले उत्खनन् गरेपश्चात् यसको महत्व अझै बढेर गएको थियो ।

लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बेलायतको दुराम विश्वविद्यालयको पुरातत्व विभागको पूर्वप्रमुख रविन कनिङ्घमको नेतृत्वमा पुरातत्वविद्हरूको टोलीले तिलौराकोटमा सन् २०१३ देखि करिब १० वर्ष उत्खनन् गरेको बताए । उत्खननबाट तिलौराकोटमा संग्र्रहालय, पश्चिमी र पूर्वीद्वार, केन्द्रीय संरचना परिसर, मध्यभागको पोखरी, किल्ला, जोडी स्तुप, विहार र प्राचीन औद्योगिक क्षेत्र र प्राचीन शहरको प्रमाण भेटिएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत भएपछि तिलौराकोट दरबार क्षेत्र सरकारको प्राथमिकतामा परे गुरुयोजनाअनुसार विकास हुनेछ । साथै यहाँको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक महत्व अन्तर्राष्ट्रियस्तरमा प्रमाणित हुने, अन्तर्राष्ट्रिय पर्यटकहरू भ्रमणमा आउने र स्थानीयले आर्थिक लाभ लिन सक्ने कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले बताए ।

‘विश्व सम्पदामा सूचीकृत नहुँदा सरकार र लुम्बिनी विकास कोषले लुम्बिनीलाई मात्र प्राथमिकतामा राखेर बजेट दिने र त्यहाँको मात्रै विकास भएको थियो, अब तिलौराकोट पनि सरकारको प्राथमिकतामा पर्नेछ,’ पौडेलले भने । विश्व सम्पदामा सूचीकृत भएपछि सम्पदा क्षेत्र आसपासमा अनियन्त्रित शहरीकरण र जथाभावी जग्गाको उपयोग नियन्त्रण भई दीर्घकालीन तथा दिगो विकास सुनिश्चित हुने पुरातत्वविद् हिमाल उप्रेतीले बताए ।

साभार : अनलाईन खवर

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu