बुटवल उच्च अदालतमा मुद्दा फर्छ्योट : पाँच वर्षमा दोब्बरले बढ्यो फैसला दर
बुटवल –
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले मुद्दा फर्छ्योटमा उल्लेख्य प्रगति गरेको छ । पछिल्लो पाँच वर्षको तथ्यांकले अदालतको कार्यसम्पादनमा व्यापक सुधार आएको देखाएको छ, जसले गर्दा मुद्दा फैसलाको दर झन्डै दोब्बरले वृद्धि भएको छ । समयमै न्याय निरूपण हुन थालेपछि न्यायका लागि वर्षौँ कुर्नुपर्ने अवस्था अन्त्य हुँदै गएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ३,५२४ मुद्दामध्ये १,८७१ मुद्दा फैसला भएको छ, जुन ५३.०९ प्रतिशत हो । त्यस्तै २०७९/८० मा ३,८८९ मुद्दामध्ये २,३४८ मुद्दाको फैसला भएको छ, जुन ६०.३७ प्रतिशत हो । यसैगरी २०८०/८१ मा ३,९०७ मुद्दामध्ये ३,०७५ मुद्दाको फैसला भएको छ, जुन ७८.७० प्रतिशत हो ।
उच्च अदालत बुटवलमा साबिक लुम्बिनी अञ्चलका जिल्ला अदालतबाट चित्त नबुझेकाहरू आउने गर्छन् । केही मुद्दाहरू सीधै उच्च अदालत बुटवलमा पनि दर्ता हुने गर्दछन् । यहाँ गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्ला अदालतका आदेशमा चित्त नबुझेकाहरू आउने गर्छन् ।जिल्ला अदालतमा लामो समय लागेका मुद्दाहरू कतिपय यहाँ छिटो र छरितो हुने गरेको देखिन्छ । मुख्य न्यायाधीश बाबुराम आचार्यले पछिल्लो पाँच वर्षमा उच्च अदालतमा मुद्दाको संख्या वृद्धिसँगै फैसला पनि समयमा हुने क्रममा प्रत्येक वर्ष सुधार हुँदै गएको तथ्यले देखाएको बताए ।
उनले मुद्दाको प्रकृति हेरेर केही मुद्दालाई अलि समय लाग्ने भए पनि सकभर समयमा न्याय दिँदा त्यसबाट सेवाग्राहीले न्यायको महसुस गर्ने भएकाले यस्तो गरिएको खुलाए ।
जिल्लागत अवस्था कस्तो ?
उच्च अदालत तुलसीपुर, बुटवल मातहत साबिक लुम्बिनी अञ्चलका ६ जिल्ला अदालतहरू रहने गर्दछन् । जसमा ती अदालतको असार ३० गतेसम्मको मुद्दा फैसलाको प्रतिशतलाई आधार मान्दा सबैभन्दा धेरै अर्घाखाँची जिल्ला अदालतमा भएको छ भने सबैभन्दा कम रुपन्देही जिल्ला अदालतमा भएको छ ।
अर्घाखाँची जिल्ला अदालत: ५९८ मुद्दामध्ये ५२५ मुद्दा फैसला भएका छन्, जुन ८७.७९ प्रतिशत हो ।
कपिलवस्तु जिल्ला अदालत: ४,४१६ मुद्दामध्ये २,८७० मुद्दा फैसला भएका छन्, जुन ६४.९९ प्रतिशत हो ।
गुल्मी जिल्ला अदालत: ७६२ मुद्दा परेकोमा ५५० को फैसला भएको छ, जुन ७२.१७ प्रतिशत हो ।
नवलपरासी जिल्ला अदालत: ३,५५५ मुद्दा परेकोमा २,४३१ मुद्दा फैसला भएका छन्, जुन ६८.३८ प्रतिशत हो ।
पाल्पा जिल्ला अदालत: १,०८१ मुद्दा परेकोमा ८०१ मुद्दा फैसला भएका छन्, जुन ७४.०९ प्रतिशत हो ।
रुपन्देही जिल्ला अदालत: ९,०३९ मुद्दा परेका छन्, जसमा ५,७३९ वटा मुद्दा यो आर्थिक वर्षको असार ३० गतेसम्म फैसला भएका छन् । प्रतिशतको हिसाबमा यहाँ ६३.४९ प्रतिशत फैसला भएको छ ।
यहाँ तराईका जिल्लाहरूमा मुद्दाको संख्या धेरै र पहाडी जिल्लामा कम रहेको देखिन्छ ।

