रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमै
रुकुमपूर्व –
रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमै रहने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रुकुमकोटलाई सदरमुकाम तोक्ने निर्णय गरेसँगै करिब सात वर्षदेखि जारी विवादको टुंगो लागेको हो ।मन्त्रिपरिषद् स्रोतका अनुसार आजको बैठक रुकुमकोटमै सदरमुकाम तोक्ने निर्णय भएको हो ।‘हामीले उठाएको मागलाई सरकारले सुनेको छ, अब रुकुमकोटमै सदरमुकाम रहने भएको छ,’ सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले अनलाइनखबरसँग भने ।
प्रशासनिक पुनर्संरचनापछि २०७४ असोज २७ मा गठन गरिएको रुकुमपूर्व जिल्लाको प्रशासनिक कामकाज रुकुमकोटबाटै सुरु भएको थियो । त्यसअघि असोज १९ गते तत्कालीन गृहमन्त्री जनार्दन शर्माले रुकुमकोटमै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला समन्वय समितिको उद्घाटन गरेका थिए ।तर, २०७४ माघ ११ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले पुथाउत्तरगंगा गाउँपालिका–१२ गोलखाडालाई सदरमुकाम बनाउने निर्णय गरेपछि विवाद सुरु भएको थियो ।
त्यसपछि रुकुमकोटमा सदरमुकाम हुनुपर्ने मागसहित प्रदर्शन र आन्दोलन चर्किएको थियो भने सरकारको निर्णय कार्यान्वयनको माग गर्दै गोलखाडा पक्षधरहरू पनि सडकमा उत्रिएका थिए ।सरकारको निर्णयविरुद्ध २०७४ माघ १७ गते अधिवक्ता गणेश हमाल, कृष्ण रेग्मी र दत्तबहादुर बस्नेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही दिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न भनेपछि सदरमुकाम विवादले झन चर्को रूप लिएको थियो ।
२०७४ माघपछि रुकुमकोट र गोलखाडा दुवै पक्षले आ–आफ्नो अडानसहित आन्दोलन चर्काए पनि जिल्ला प्रशासनको सेवा भने निरन्तर रुकुमकोटमै सञ्चालन हुँदै आएको थियो ।उक्त रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासले २०८० भदौ १७ गते सरकारको अघिल्लो निर्णय उत्प्रेषण आदेशबाट बदर भएको उल्लेख गर्दै मापदण्ड बनाएर पुनस् सदरमुकाम तोक्न परमादेश दिएको थियो ।
सदरमुकाम रुकुमकोटमै हुनुपर्ने माग गर्दै लामो समयदेखि आवाज उठाउँदै आएका पक्षले निर्णयलाई स्वागत गरेका छन् ।यसैबीच, सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै केही समूहले असन्तुष्टि पनि जनाउन थालेका छन् ।गोलखाडा सदरमुकाम हुनुपर्ने भन्दै असन्तुष्टि बनेका समूहले निर्णयमा संलग्न व्यक्तिहरूलाई सामाजिक रूपमा बहिष्कार गर्ने चेतावनी दिएका छन् ।यता रुकुमकोट क्षेत्रमा भने खुसीको माहोल छ ।