Connect with us
Kapilvast Forest

नारायणगढ–बुटवल सडक : सात वर्षदेखि सास्ती, अझै एक वर्ष म्याद थपको तयारी

२०८२, ९ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौ –

बुटवल नारायणगढ सडकखण्ड विस्तारको म्याद आज (बिहिबार)बाट सकिँदै छ । तर, सात वर्षदेखि निर्माणाधीन सडक खण्डमा जम्मा ७० प्रतिशत मात्रै प्रगति भएको छ । त्यसैले, सरकारले चौथोपटक एक वर्षका लागि म्याद थप्ने गृहकार्य थालेको छ ।दाउन्ने सडक खण्डमा यातायात सञ्चालन सबैभन्दा कष्टकर छ । अन्य खण्डमा भने विगतको पिडादायी यात्राको तुलनामा केही सहज छ । तर, ठाउँ–ठाउँमा अलपत्र पूर्वाधार तथा पुलनजिकका खाल्टाखुल्टीले आरामदायी यात्रा गर्न दिँदैनन् ।

६ महिनायता तुलनात्मक रूपले फटाफट निर्माण अघि बढाएको चिनियाँ ठेकेदार चाइना इस्टेट कम्पनीले अहिले दाउन्नेमा केन्द्रित रहेर काम गरिरहेको छ । दसैँअगाडि दाउन्नेको बाटो पनि अन्यत्रजत्तिकै सहज हुने गरी कम्तीमा एकतर्फी कालोपत्रे सक्ने ठेकेदार कम्पनीको योजना छ । दाउन्नेको १४ किलोमिटर सडक खण्डमध्ये पश्चिम बर्दघाटतर्फ तीन किलोमिटर मात्रै कालोपत्रे भएको छ ।दाउन्ने सडक यतिवेला धुलो र हिलोले बिजोग छ । जसको मार यात्रुसँगै स्थानीय बासिन्दा र दाउन्नेका व्यापारीहरूले खेपिरहेका छन् । आयोजना पूर्व खण्डका प्रमुख ईश्वरबहादुर रिजालले अहिलेसम्म ७० प्रतिशत प्रगति भएको र दाउन्ने खण्डमा तीव्रगतिमा काम भइरहेको बताए । ‘साउन ८ गते म्याद सकिँदै छ । त्यसैले करिब एक वर्ष म्याद थप गरेर काम सक्नुपर्ने दबाबमा छौँ,’ रिजालले भने ।

सुरु ठेक्का सम्झौताअनुसार यो सडक खण्ड ०७९ साउनमै सम्पन्न भइसक्नुपर्ने हो । तर, अहिलेसम्म पनि अलपत्र छ । उक्त सडक निर्माणको प्रगति सुपरिवेक्षण गर्ने आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले १८ महिना समय थप गर्न दबाब दिइरहेको, तर एक वर्षभित्रै निर्माण सक्ने गरी म्याद थप गर्नेबारे छलफल भइरहेको बताए ।‘चिनियाँ ठेकेदारले करिब १८ महिना म्याद थप गर्न माग राखेको छ । ठेकेदारको मागअनुसारको समय दिन सकिँदैन’ उनले भने, ‘एक वर्ष म्याद थप्ने, तर थपिएको म्यादमा लागत नबढ्ने सर्त राख्ने तयारीमा छौँ ।’१ सय १३ किलोमिटर सडकमध्ये एकतर्फी एक सय किलोमिटर कालोपत्रे भएको छ भने दुवैतर्फ ८० किलोमिटर कालोपत्रे सकिएको छ ।

सुरुदेखि हालसम्मको अवस्था

  • लागत अनुमान : २१ अर्ब ७५ करोड
  • ठेक्का रकम : १९ अर्ब ९९ करोड
  • निर्माण कम्पनी : चाइना इस्टेट कर्पोरेसन
  • सम्झौता मिति : ४ पुस, ०७५
  • सम्पन्न हुनुपर्ने मिति : ६ भदौ, ०७९
  • म्याद थपपछिको मिति : ७ साउन, ०८२
  • हालसम्मको प्रगति : ६९.३३%
  • हालसम्मको वित्तीय प्रगति : ६२.३५%
  • एडिबीले ऋण बन्द गर्ने : १५ साउन, ०८३

साभार नयापत्रिका

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu