Connect with us
Kapilvast Forest

पश्चिम चितवनका अधिकांश क्षेत्रमा आज ६ घण्टा विद्युत् कटौती

२०८२, १२ श्रावण आईतवारमा प्रकाशित

काठमाडौ –
पश्चिम चितवनका अधिकांश क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् कटौती हुने भएको छ । विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले शनिबार तालिकासहितकै सूचना आफ्नो फेसबुक पेजमार्फत जारी गरेको हो ।

सूचनाअनुसार नारायणीदेखि माडीसम्मको फिडरमा बिहान ६ देखि ९ बजेसम्म र दिउँसो ३ देखि साँझ ६ बजेसम्म, मेघौली–विजयनगर–शुक्रनगर फिडरमा बिहान ९ देखि दिउँसो १२ बजेसम्म र बेलुका ६ देखि राति ९ बजेसम्म तथा जगतपुर–रामपुर फिडरअन्तर्गतका क्षेत्रमा दिउँसो १२ देखि ३ बजेसम्म र राति ९ देखि १२ बजेसम्म विद्युत् कटौती गर्ने तालिका छ । लोडसेडिङ सुरु भएको भन्दै चौतर्फी विरोध भएपछि केन्द्रले केहीबेरमै उक्त सूचना भने हटाएको छ ।

दिनमै ६ घण्टासम्म विद्युत् कटौती गर्नुपर्ने कारण भने विद्युत् उत्पादन कम भएर होइन । प्राधिकरणका अनुसार पूर्वाधार अभावले यस्तो अवस्था निम्तिएको हो । भरतपुर १३२र३३ केभी सबस्टेसनबाट आउने ३३ केभी डग कन्डक्टर तारको विद्युत् प्रवाह क्षमता ३०० एम्पियरसम्म मात्रै रहेकोमा अत्यधिक गर्मी र रोपाइँका लागि डिप बोरिङका कारण ४०० एम्पियरसम्म लोड बढ्दा धान्न नसक्ने अवस्था आएको चनौली वितरण केन्द्रले जनाएको छ । यो समस्या समाधानका लागि बसेन सब स्टेसनबाट विद्युत् आपूर्ति गर्ने गरी अघिल्लो आर्थिक वर्षदेखि नै अर्को ३३ केभी प्रसारणलाइन निर्माणमा रहेको पनि केन्द्रले जनाएको छ । तर, यसको काम ८० प्रतिशत मात्रै सकिएकाले तत्कालका लागि वर्षा भएर उपभोक्ताले विद्युत्को उपभोग नै नघटाएसम्म समस्या कायम रहने निश्चित छ ।

चनौली वितरण केन्द्रका इन्जिनियर दिनेशकुमार कुसहावले आइतबारका लागि तालिका सार्वजनिक गरिएको र तत्काल पानी परे कटौती गर्नु नपर्ने अवस्था पनि आउन सक्ने बताए । ‘विद्युत्को माग बढेअनुसार आपूर्ति गर्न वितरण लाइनको क्षमताले नपुगेपछि स्थानीयले अघोषित रूपमा कटौती गर्नुभन्दा तालिका नै दिन आग्रह गर्नुभएको थियो । त्यसैअनुसार नै तालिका सार्वजनिक गरेका हौँ,’ उनले भने, ‘पूर्वाधारको क्षमताले पुगेको अवस्थामा सकेसम्म विद्युत् आपूर्ति हुन्छ, तत्काल पानी पर्‍यो भने कटौती गर्नुपर्दैन ।’ फेसबुकबाट सार्वजनिक तालिका हटाएको विषयमा भने आफू जानकार नरहेको कुसहावले बताए ।

अघोषित रूपमा यसअघि पनि पश्चिम चितवन क्षेत्रमा पटक–पटक विद्युत् कटौती गरिँदै आएको थियो । देशका अन्य ठाउँमा पनि विद्युत् अवरुद्ध हुने गरेका गुनासा आउने गरेका छन् । वर्षा हुनुपर्ने यो अवधिमा खडेरी पर्दा किसानहरूले डिप बोरिङको प्रयोग गरेर रोपाइँ तथा सिँचाइ गरेकाले विद्युत्को माग अत्यधिक छ । त्यस्तै, गर्मी बढ्दा घरायसी प्रयोगमा पनि विद्युत्को माग बढेको छ । उक्त मागलाई प्रसारणलाइनको क्षमताले नधान्दा समस्या निम्तिएको प्राधिकरणको भनाइ छ ।
साभार नयाँपत्रिका

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu