वर्ल्ड यूथ सभात च्याम्पियनसिपमा बसिल त्वयनाले जिते रजत
काठमाडौँ –
उज्वेकिस्तानको तासकेन्ट शहरमा सम्पन्न वर्ल्ड यूथ सभात च्याम्पियनसिपमा नेपालका बसिल त्वयनाले रजत पदक जितेका छन्।प्रतियोगिताको दोस्रो दिन ८०-८५ केजी तौल समूहमा उज्वेकिस्तान, फ्रान्स अज़रबैजान र नेपालका खेलाड़ीबीच लिग चरणमा खेलाइएको खेलमा नेपालका बसिलले पहिलो खेलमा आयोजक उज्वेकिस्तानका जिदिरोभ मोहम्मदलाई हराई ३ अंक हासिल गरेका थिए। दोस्रो खेलमा अजरबैजानी खेलाडी महमद सुलेमनोभलाई पराजित गरी ६ अंक बटुलेका उनी तेस्रो खेलमा फ्रान्सका खेलाड़ी मलभिन पेरिईले वॉकओवर दिएर ९ अंक बटुली फाइनल प्रवेश गरेका थिए।
७ अंक बटुली फाइनल प्रवेश गरेका फ्रान्सकै खेलाडी मलभिन पेरिईसँग तेस्रो दिन भएको फाइनलमा पराजित भएपछि बसिलले रजत पदकमै चित्त बुझाउनु पर्यो।सभात खेलको जन्मदाता फ्रान्सको खेलाडीसँग फाइनलमा भिड्न पाउनु गर्वको विषय भएको नेपाल सभातका संस्थापक अध्यक्ष तथा टिम कोच एवं एसियन सभात कन्फिडेरेसनका कार्यकारी सदस्य लक्ष्मण बस्नेतले बताए।प्रतियोगिता जुलाई २३ देखि २७ सम्म चलेको थियो।
